कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा राजतन्त्र समर्थक, यसअघि पनि  विभिन्न व्यक्तिलाई मोसो दल्नेलगायत गतिविधिमा सक्रिय

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार प्रदर्शनी मार्गस्थित रिपोर्टर्स क्लबबाट बाहिरिँदै गर्दा यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरस्थित आइसियू कक्षमा उपचार भइरहेको छ । 

यादवमाथि नुवाकोटको विदुर नगरपालिका– ४ का श्यामबहादुर सापकोटाले आक्रमण गरेका हुन् । उनी राजतन्त्र समर्थक रहेको खुलेको छ । मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले यादवलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाइएको बताए । ‘यादवमाथि खुकुरी प्रहार गर्ने आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान हुँदै छ । बाँकी तथ्य खुल्दै जालान्,’ उनले भने ।

साक्षात्कार कार्यक्रम हुने सूचनापछि उनी बुधबार बिहानै रिपोर्टर्स क्लब पुगेका थिए । क्लबमा उनी पत्रकारसँगै बसेका थिए । कार्यक्रममा प्रमुख वक्ता रहेका यादवले नक्कली भुटानी शरणार्थी तथा समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । पूरै समय कार्यक्रममा रहेका सापकोट यादव कार्यक्रम सकेर बाहिरिएसँगै पछिपछि निस्किएका थिए । यही क्रममा उनले साथमा रहेको खुकुरी झोलाबाट झिकेर यादवमाथि प्रहार गरेका हुन् । 

यादवलाई खुकुरी प्रहार गरेपछि उनले ‘ले ले जनता खुकुरी ले, देशद्रोहीलाई छप्काइदे, राजसंस्था जिन्दावाद, एमसिसी खारेज गर’ लगायतका नारा लगाएका थिए । प्रहरीका अनुसार उनले यसअघि पनि विभिन्न व्यक्तिलाई मोसो दल्नेलगायत गतिविधि गर्दैै आएका थिए । उनी त्यसवेला पनि पक्राउ परेका थिए ।

आक्रमणकारीलाई कारबाही गर्न कांग्रेसको माग 

आक्रमणकारी श्यामबहादुर सापकोटा

कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै भत्र्सना गरिएको छ । ‘आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो–कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा छ । 

खुकुरी प्रहारले टाउकोमा चोट लागेपछि उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सभापति शेरबहादुर देउवालगायतले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । ट्रमा सेन्टरले यादवको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको छ । यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा गहिरो घाउ भई रक्तस्राव भएको अस्पतालले जानकारी दिएको छ । मेडिकल सुपरिटेन्डेन्ट प्रमुख डा. बद्री रिजालका अनुसार टाउकोको सिटिस्क्यान गर्दा आन्तरिक चोट देखिएको छैन । र, चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । 

तरुण दल अध्यक्ष विद्वान गुरुङले तरुण दलको पूर्वअध्यक्ष यादवमाथि खुकुरी प्रहार गरी भएको सांघातिक आक्रमणको भत्र्सना गरेका छन् । तरुण दलले घटनामा प्रहरी–प्रशासन मूकदर्शक बनेको र घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

नेविसंघले घटनामा सरकार शान्तिसुरक्षा कायम गर्न असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पनि विज्ञप्तिमार्फत दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भएको उल्लेख गरेका छन् ।

सुझावित समाचार