भारतमा हुन लागेको जी—२० सम्मेलनलाई नेपालले कसरी बुझ्नु ठीक हुन्छ ?
विश्वका विकसित र उदीयमान २० आर्थिक शक्तिराष्ट्रको यो शिखर सम्मेलन अन्तर्राष्ट्रिय कूटनीतिमा भारतका लागि विशिष्ट अवसर हुनेछ । प्रधानमन्त्री मोदीका लागि यसको आन्तरिक राजनीतिक लाभांश उर्वर सिद्ध हुने अपेक्षा गरेर ‘एक देश : एक चुनाव’ को राजनीतिक मार्गचित्र सार्वजनिक भइसकेको छ । नेपालको राजनीतिक विवेक र कूटनीतिक सिपका लागि समय चुनौतीपूर्ण हुनेछ ।
रुस र चीनका राष्ट्रपतिको अनुपस्थिति र भारतले थपेको निम्तालु देशको सूचीबारे के भन्नुहुन्छ ?
पुटिन नआउनुको कारण बुझ्न सकिन्छ । तर, चीनका राष्ट्रपति भएदेखि जी–२० का सबै सम्मेलनमा सहभागी सि जिनपिङको अनुपस्थिति भने अर्थपूर्ण छ । विश्व शक्तिसंघर्षको नाजुक घडीमा भारतलाई थप हैसियत दिन चीनियाँ अनिच्छा र दुई देशबीच बढ्दो तनाव यसमा प्रतिविम्बित भएको छ । नेपालले नोट गर्नुपर्ने बुँदा के हो भने अमेरिकाले दोस्रो पटक पनि ‘डेमोक्रेसी समिट’बाहिर राखेको बंगलादेशलाई जी–२० मा बोलाइएका ‘नौ पाहुना देश’मा भारतले सामेल गरेको छ । यसमा जोडिएको क्षेत्रीय सन्देशलाई नेपालले परिपक्व ढंगमा अथ्र्याउनुपर्छ ।
नेपालले चिन्तन गर्नुपर्ने बुँदाहरू के–के हुन् ?
भारतले उदीयमान भूराजनीतिक र आर्थिक शक्तिको हैसियतको हकदाबी जोडदारढंगमा गर्न थालेको छ । ‘एक देश : एक चुनाव’मा गएपछि सुरु हुने राजनीतिक संक्रमणकालमा यो दाबी तथा अमेरिकासँग बढिरहेको सामरिक घनिष्टता र चीनसँगको वैरभावलाई भारतले छिमेकीसँगको सम्बन्धमा कसरी भजाउन खोज्छ भन्ने प्रश्न महत्वपूर्ण हुनेछ । नेपालको चिन्तन र मूल्यांकन केन्द्रित हुनुपर्छ । शासकीय क्षमता र कूटनीतिक सिप हासिल गर्न नेपालसँग समय थोरै छ ।