निलम्बित एसएसपी पालमाथि कारबाहीको सिफारिस

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण
निलम्बित एसएसपी पालमाथि कारबाहीको सिफारिस

महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल

महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको हो । 

प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले गत शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन थप अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरी महानिरीक्षक कुँवरको तयारी छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले महिला कर्मचारीलाई दुर्व्यवहार गरेका हुन् । बिदामा जान लागेकी एक महिला हवल्दारलाई निवासमा बोलाएर उनले यौन दुर्व्यवहार गरेका थिए । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो ।

सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि डिआइजीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको हो । समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रस्ट भएको छानबिनमा खुलेको स्रोत बताउँछ । 

बिदामा जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए । कार्यालयका अन्य महिला प्रहरीलाई पति विगतमा त्यसैगरी दुर्व्यवहार गरेको छानबिनमा खुलेको छ । विगतमा पनि यस्ता घटनामा एसएसपी पालमाथि छानबिन हुँदै आएको थियो । 

सुझावित समाचार