एउटा दुर्गम गाउँमा एकजना अति मिहिनेती किसान थिए । उनको अंगुरको खेती थियो । उनको अंगुर खेती बर्सेनि मौलाउँदै गयो । उनी एकदमै सफल किसान बने । उनका तीनवटा छोरा थिए, जो युवा र एकदमै ऊर्जावान् थिए । तर, उनीहरूलाई कुनै पनि काममा खासै रुचि थिएन । ती किसान जति बूढा हुँदै गए, उनलाई आफ्ना छोराहरूको चिन्ताले पनि छोप्दै गयो ।
चिन्ता र बुढ्यौलीका कारण उनी एकदमै बिरामी पर्छन् । उनलाई आफ्नो मृत्यु सन्निकट भएको अनुभव हुन्छ । उनी आफ्ना छोराहरूलाई बोलाउँछन् र भन्छन्, ‘प्यारा छोराहरू, मेरो मृत्युको समय आइसकेकोजस्तो छ । तर, म मर्नुअघि तिमीहरूसँग एउटा रहस्य खोल्न चाहन्छु । मैले अंगुरको यो खेतमा मैले एउटा गाढधन लुकाएको छु । तिमीहरू मिलेर पूरै खेत खन र मेरो मृत्युअघि नै त्यो धन झिक ।’
ती वृद्ध किसान मर्छन् । उनका छोराहरूले आफ्ना पिताको अन्तिम किरियाकर्म सकेपछि खेतको एउटा पनि भाग नछोडी खनेर हेर्छन् । उनीहरूले त्यहाँ कुनै गाढधन भेट्टाउँदैनन् । तर, उनीहरूले खेत खनेकाले अंगुरको नयाँ बाली थप मौलाएर आउँछ, जसका कारण उनीहरूको उत्पादनमा भारी वृद्धि हुन्छ ।
अंगुर धेरै फल्दा उनीहरूको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुन्छ । यो घटनाले उनीहरूलाई आफ्ना पिताले के भन्न खोजेका थिए भन्ने कुराको बोध गराउँछ । परिश्रमले सधैँ प्रतिफल दिन्छ । कडा मिहिनेतको फल सधैँ मिठो हुन्छ, चाहे त्यो हामीले चाहेको वा अन्य कुनै स्वरूपमा नै किन नहोस् ।