विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सोलारबत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा अख्तियारले पालिकाका अध्यक्षसहित लेखापाल र एमआइएस अप्रेटरविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अप्रेटर वीरेन्द्रकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत दुई लाख नगद र तीन लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षको पनि मिलेमतो देखिएकाले तीनैजनाउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सुझावित समाचार