नेपाल क्लियरिङ हाउसको सञ्चालकमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले फाइनान्स कम्पनीहरूका तर्फबाट आइसिएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
यसअघि सञ्चालक रहेका रिलायन्स फाइनान्सका समाजप्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि नेपाल क्लियरिङ हाउसको सञ्चालक पद रिक्त रहेको थियो । नवनियुक्त सञ्चालक श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव रहेको जनाइएको छ ।
कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकतर्फबाट तीनजना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एकजना तथा स्वतन्त्र सञ्चालकबाट एकजना गरी जम्मा सातजनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।