जुम्लाका वाणिज्य फर्म र उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका १० लाखभन्दा कम पुँजी भएका दुई हजार आठ सय ९२ फर्म र पाँच लाखभन्दा कम पुँजी भएका दुई सय ९२ उद्योग स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको रोहवरमा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले १० लाखसम्म पुँजी भएका वाणिज्य फर्म र पाँच लाखसम्म पुँजी भएका उद्योगहरू नवीकरणसहित सञ्चालन गर्न स्थानीय सरकारलाई हस्तान्तरण गरिएको बताए । उनले भने, ‘स्थानीय तहलाई नवीकरण मात्रै नभई सो लगानी भएका उद्योग र वाणिज्य फर्म दर्ताका लागि पनि हस्तान्तरण गरिएको छ ।’
स्थानीय तहलाई वाणिज्य र उद्योग फर्म हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सेवाग्राहीलाई सजिलो र सरकारको राजस्वमा वृद्धि गर्न स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो । उनले भने, ‘स्थानीय तहमा हस्तान्तरण भएका उद्योग स्थानीय सरकारको अपनत्वमा रहनु निकै राम्रो छ । यसले स्थानीय तहमा कार्यान्वयन गर्न आवश्यक रहेको छ ।’