संविधानविपरीत ऐनविनै कर उठाउँदै कोशी सरकार

सरकार बजेटविहीन छ, तैपनि राजस्व संकलन निरन्तर, प्रमुख प्रतिपक्षीको मौन समर्थन

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

सत्ता राजनीतिको दाउपेचले कोशी प्रदेश सरकार शून्यताको अवस्थामा छ । ११ भदौबाट कोशी प्रदेशमा बजेट ‘होलिडे’ छ । संविधानतः यस्तो अवस्थामा सरकारले न त राजस्व संकलन गर्न  नै पाउँछ, न त खर्च गर्न नै । तर, कोशी सरकारले पुनः संविधान मिच्दै राजस्व संकलन गरिरहेको छ । 

बजेट शून्यताको अवस्थामा पनि प्रदेश सरकारले निरन्तर यातायात, मालपोतलगायतका अन्य राजस्व संकलन गरिरहेको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय कोशीका अनुसार अहिले पनि सरकारले राजस्व संकलन गरिरहेको छ । विधानको धारा २०३ बमोजिम कानुनअनुसार बाहेक प्रदेशमा कुनै कर लगाउन र उठाउन पाइँदैन । त्यस्तै, धारा २०५ अनुसार विनियोजित ऐनबमोजिम मात्रै खर्च गर्न पाइन्छ । यद्यपि, कोशी सरकारले आर्थिक ऐन र विनियोजन विधेयकविना नै राजस्व संकलन गरिरहेको हो ।

यसअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ३१ जेठमा आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशमार्फत ल्याएको बजेटकै आधारमा कर संकलन भइरहेको प्रदेश सरकारले जनाएको छ । कार्की नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट १० भदौ मध्यरातबाट निष्क्रिय भएपछि कोशीमा बजेट ‘होलिडे’ सुरु भएको थियो । अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पारित भई प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाबाट पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ । 

प्रदेशमा राजनीतिक दाउपेचका कारण राजनीति अस्थिरता छ । सरकारको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षकै मत लिएर विश्वास प्राप्त गरेको घोषणापछि यो मुद्दा सर्वोच्चमा पुगेको हो । मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरुद्ध ६ भदौमा दायर रिटमा सर्वाेच्च अदालतले ७ भदौमा सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न भनेपछि बजेटको तयारीमा रहेको थापा नेतृत्वको सरकार बजेटविहीन भएको थियो । 
यद्यपि, संविधान मिच्दै सरकारले राजस्व संकलन भने गरिरहेको छ । सरकार चलाउन जसरी भए पनि राजस्व संकलन गर्नुपर्ने बाध्यता रहेको आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बताए । ‘जसरी भए पनि सरकार त चल्दै छ ।

अहिले नै खुट्टा छाड्न त मिलेन । खर्च गर्ने उपाय हामीसँग छैन । राजस्व संकलन हामीले गरिरहेका छौँ । जनताको काम रोक्न मिलेन,’ मन्त्री गौतमले भने, ‘कानुनी अडचनलाई खोल्ने गरी संकलन गरिरहेका छौँ । पछि पनि हामीबीचको गतिविधिलाई मिलाउने गरी जान्छौँ । जुन सरकार आए पनि पछि मिल्छ । राज्यलाई नै अपाङ्ग त बनाउन मिलेन नि त ! हामीले कर संकलन रोकेनौँ, निरन्तर गर्‍यौँ ।’ 

उनले यसअघिको अध्यादेश र गत वर्षको ऐनअन्तर्गत राजस्व संकलन भइरहेको बताए । ‘प्रश्नहरू त उठ्छन् । तर, प्रश्न उठे भन्दैमा राज्यलाई नै निकम्मा बनाउन त मिल्दैन,’ उनले भने, ‘अहिलेको प्रतिपक्षले पनि राज्यलाई दिशाविहीन बनाउने त सोच्न मिल्दैन नि । कर नै संकलन गर्न नहुने बनाउन त मिल्दैन नि ! कर संकलन रोक्दा जनताको काम नै रोकिन्छ । जुन सरकार आए पनि स्रोत त चाहिन्छ ।’ 

बजेटविहीन अवस्था आएपछि प्रदेश सरकार पूरक निवेदनसहित सर्वोच्च जाने तयारीमा थियो । यद्यपि, आवश्यक नभएको निष्कर्षसहित अदालत नगएको उनले बताए । सर्वोच्चले प्रदेश सरकारको मुद्दामा फैसला नगर्दा समस्या भएको बताए । यसमा अदालतले बुझ्नुपर्ने बताए । 

सरकारको संविधानविपरीत कर संकलन गर्ने निर्णयमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि मौन समर्थन गरेको छ । ‘मुख्यतः प्रदेशको यातायात कार्यालय हो । यातायातसम्बन्धी प्रदेश ऐनमा कर दस्तुर तोकिएको छ । फर्म दर्ता रजिस्ट्रेसनसम्बन्धी काम गर्न ऐनले कर दस्तुरको कुरा गरेको छ । ऐनले तोकेको कर दस्तुर उठाउन ऐनले बाधा गरेन । आर्थिक ऐनले घटाउने–बढाउने हो । अहिले घटाउन–बढाउन पाइएन । कानुनबमोजिम कर उठाउन हाम्रो आपत्ति छैन,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने । 

पूर्वअर्थसचिव सुरेश प्रधानले संसद्बाट आर्थिक ऐन पारित नगरी राजस्व संकलन गर्न नपाइने बताए । उनले यसरी कर संकलन गर्नु सरकारको जवाफदेहितामाथिको प्रश्न भएको बताए । ‘कानुन नभई कर संकलन गर्न पाइँदैन । केन्द्रमा सामूहिक कर असुल ऐन छ । प्रदेशमा पनि यो छ भने पाइन्छ । तर, छैन भने पाइँदैन,’ उनले भने, ‘कर लगाउन संसद्ले पास गर्नुपर्छ । त्यो छैन भने सरकारले कर लगाउन पाउँदैन । सरकारको जवाफदेहिता त भएन नि ! उठाएको पैसाको जवाफदेहिता कसले लिन्छ ?’ प्रदेशले कर उठाएको विषयमा भने कर्मचारी जवाफ दिनबाट पन्छिएका छन् । उनीहरूले राजनीतिक विषय भन्दै जवाफ दिन अस्वीकार गर्दै आएका छन् । 

‘बजेट होलिडे’मा संघले कर उठाए पनि खर्च गरेको थिएन
आर्थिक वर्ष ०७८/७९ मा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेश पारित नभई निष्क्रिय भएको र प्रतिस्थापन विधेयक विचाराधीन रहेको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको सरकार करिब एक साता बेखर्ची (बजेटविहीन) भएको थियो । उक्त अवधिभर सरकारले भन्सार कर उठाए पनि खर्च भने गरेको थिएन । महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेरै खर्च नगर्न भनेको थियो । प्रतिस्थापन विधेयक संसद्बाट पास भई प्रमाणीकरण भएपछि मात्रै संघीय सरकारले कर संकलन तथा खर्च परिचालन गरेको थियो ।

सुझावित समाचार