अभिभावकविहीन बालबालिकालाई सहयोग हस्तान्तरण

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

गुल्मीको धुर्कोट गाउँपालिका– १ नयाँगाउँका कृष्ण र लक्ष्मी नेपालीदम्पतीका बिचल्लीमा परेका छोराछोरीहरूलाई सहयोग हस्तान्तरण गरिएको छ।

केही दिनअघि नयाँ पत्रिकामा धुर्कोट गाउँपालिका– १ नयाँगाउँको ‘मातृवियोगमाथि कलिलो काँधमा विपन्नताको भारी’ शीर्षकको समाचार प्रकाशन भएको थियो। सो समाचार प्रकाशनपछि विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त सहयोग बालबालिकालाई शनिबार बिहान घरमै पुगेर प्रदान गरिएको हो।

बालबालिकाको अवस्था देखेर बाँके जिल्ला खजुरा गाउँपालिका– १ घर भई १५ वर्षदेखि अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले उपलब्ध गराएको खाद्यान्य, लत्ताकपडा र नगद पाँच हजार गरेर ३५ हजारको सहयोग गरिएको छ। उक्त सहयोग जिटिभीका सञ्चालक दीपक नेपालीले १७ वर्षीया सपना नेपाली र परिवारलाई हस्तान्तरण गरेका हुन्।

त्यस्तै, स्याङ्जा जन्मिएर अहिले न्युयोर्कमा रहेका प्रवीण केसीद्वारा प्राप्त नगद १३ हजार, गुल्मी अस्पतालका कार्यालयका पूर्वप्रमुख डाक्टर उत्तम पच्या, पैँचो पसल प्रालिका सञ्चालक ध्रुव न्यौपाने र नयाँ पत्रिकाकर्मी अम्बिका पौडेलद्वारा प्राप्त पाँच–पाँच हजार रुपैयाँ नयाँ पत्रिकाकर्मी टोपलाल अर्यालले बालबालिकाको व्यवस्थापकीय कामका लागि धुर्कोट गाउँपालिका– १ का वडाध्यक्ष चेतमान कुँवरलाई प्रदान गरे।

गत ५ भदौमा आमा लक्ष्मी नेपालीको मिर्गौला फेल भएर ज्यान गएपछि नौ वर्षीय सागर नेपालीले काजकिरिया गरिरहेका छन्। बुबा कृष्ण नेपाली बेपत्ता भएको तीन वर्ष भए। ११ वर्षीय दाजु हिमालले पाँच दिनपछि किरिया गर्न सकेनन्। १७ वर्षीया दिदी सपनाले भाइहरूको सहजीकरण गरिरहेकी छिन्। सहयोग प्राप्त गरेपछि सपनाले खुसी व्यक्त गरिन्।

सुझावित समाचार