अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उनले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए।
महतले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे। ‘अर्थतन्त्रमा केही समस्या आएका छन्। विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,’ उनले भने, ‘राज्य संयन्त्रबाट जहाँ कमीकमजोरी भएको छ, त्यहाँ सुधारका लागि निरन्तर रूपमा लागिपरेका छौँ। केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ।’
पर्यटक भित्रिने क्रम बढिरहेको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए। राजस्व संकलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा. महतको भनाइ छ।
राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए। अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको अर्थमन्त्री महतको भनाइ थियो।