‘नारायण रायमाझी सांगीतिक साँझ’ आज

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

वरिष्ठ लोकगायक, संगीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत–संगीतको प्रस्तुति रहनेछ । उनीसँगै  सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहनेछ ।

स्रष्टा रायमाझीले मार्मिक कथा–व्यथामा आधारित सयौँ गीत आमश्रोतामाझ पस्किएका छन् । उनका  ‘मलाई सम्झी रेलीमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्नेबित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नेछन् । 

नेपालका सबैभन्दा बढी कलाकार आबद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापामगरले जानकारी दिइन् ।  हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरे । स्रष्टा रायमाझीको प्रस्तुति सुन्न देशभरिबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन् । 
 प्रज्ञा प्रतिष्ठानको हलमा प्रवेश पासको व्यवस्था गरिएको तथा प्रज्ञा प्रतिष्ठानको हलबाहिर प्रतिष्ठानपरिसरमा टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवं गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिए ।  विवाहमा छोरीलाई बिदाइ गर्ने वेला बुबाले दिने आशीर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उनले बताए।   साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको  नयाँ चलचित्र ‘परदेशी– २’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताए । 

स्रष्टा रायमाझी ०४२ सालदेखि निरन्तर लोकगीत, संगीतमा साधनारत छन् ।  गीत–संगीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोकसंगीतका  क्षेत्रमा समर्पित वरिष्ठ कलाकारका रूपमा लिइन्छ । बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रूपमा ०२० सालमा पाल्पाको झडेवामा जन्मिएका रायमाझीका दाइ लक्ष्मण रायमाझी र भाइ दुर्गा रायमाझी पनि चर्चित कलाकार छन् । दाइ लक्ष्मणको केही वर्षअगाडि निधन भइसकेको छ । भाइ दुर्गा प्रतिष्ठानको पूर्वअध्यक्ष तथा हाल सल्लाहकार छन् । 

सुझावित समाचार