खेलकुदको सुन्दरता नै खेलपछि पक्ष र विपक्षी खेलाडी हात मिलाएर अनुभव साट्ने हो । खेल अवधिसम्म मात्र एक–आपसका प्रतिस्पर्धी हुन्छन् । खेलपछि खेलाडीहरू भाइचाराको सम्बन्धका साथ अगाडि बढ्छन् । विश्वभरि हुने खेलकुदको नियम यही नै हो । तर, यही भाइचार देखाउने क्रममा इरानी भारोत्तोलन संघले आफ्ना खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको छ । विश्व मास्टर्स च्याम्पियनसिपमा इरानका खेलाडी मुस्तफा राजाईले इजरायलका म्याक्सिससँग हात मिलाएको फोटो सार्वजनिक गर्दा इरान भारोत्तोलन संघले प्रतिबन्ध नै लगाएको छ ।
प्रतियोगितामा मुस्तफाले रजत तथा म्याक्सिसले काँस्य जितेका थिए । पदक वितरण समारोहमा उनीहरू सँगै थिए । यो समारोहपछि दुवैले आ–आफ्नो राष्ट्रिय झन्डाका साथ फोटो खिचाए । फोटो खिचाउने क्रममै उनीहरूले हात मिलाए । इरानी खेलाडी मुस्तफाले म्याक्सिससँग हात मिलाएका थिए, जुन इरानको भारोत्तोलन संघले सहजतापूर्वक लिएन । अनुसन्धान नगरी र खेलाडीसँग स्पष्टीकरण नलिई संघले कारबाही प्रक्रिया अघि बढाएको बिबिसीले जनाएको छ ।
‘राष्ट्रको नियमविपरीत कार्य गरेका खेलाडीलाई कारबाहीस्वरूप आजीवन प्रतिबन्ध लगाएको छ,’ संघका हमिद सलेहिनियाले भने, ‘हाम्रा दुस्मन राष्ट्रका खेलाडीसँग हात मिलाएको देखियो, इरानले इजरायलका खेलाडीसँग नखेल्ने नीति बनाएको छ ।’ इजरायल र इरानबीच आन्तरिक विवाद छ । यी देशका सरकारबीच सम्बन्ध राम्रो छैन । इरानी सरकारले स्पष्ट रूपमा विश्वमा कुनै पनि खेलकुद प्रतियोगिता आयोजना हुँदा इजरायलका खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ ।
दुई वर्षअघि टोकियो ओलम्पिक खेलकुदमा समेत यस्तै घटना दोहोरिएको थियो । त्यसवेला इरानका खेलाडीले इजरायलसँग प्रतिस्पर्धा नै गरेनन् । इरानका राष्ट्रियस्तरका खेलाडीले विश्व खेलकुदमा प्रतिस्पर्धा गर्न गोप्य रूपमा भाग लिने गरेका छन् । यद्यपि, सरकार वा सम्बन्धित खेलका संघसँग अनुमति नलिई उनीहरूले सीधै प्रतियोगितामा भाग लिने गरेका छन् । मुस्तफाले पोल्यान्डमा आयोजना भएको विश्व मास्टर्स प्रतियोगितामा यस्तै प्रक्रियाबाट भाग लिएका हुन् । यद्यपि, यो प्रतियोगिता गैरव्यावसायिक थियो । यस्तो किसिमको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी हुँदैनन् । खेलजीवनबाट सन्न्यास लिइसकेका खेलाडीले मात्र भाग लिने गर्छन् । मुस्तफा इरानका भारोत्तोलनका राम्रा खेलाडी थिए ।
इरानी खेलाडीलाई डर
इजरायलसँग खेलेकै कारण इरानी खेलाडी प्रतिबन्ध परेको यो पहिलो घटना होइन । इजरायली खेलाडी विपक्षमा रहँदा इरानी खेलाडीले खेल नै परित्याग गरेको यस्ता घटना धेरै छन् । सन् २०१९ को विश्व च्याम्पियनसिपमा इरानका फरोउजाले इजरायलका खेलाडी विपक्षमा पाउँदा खेल नै परित्याग गरेका थिए । त्यसपछि फरोउजाले खेलकुदमा भविष्य बनाउन इरान नै छाडे । सन् २०१९ मा जुडोका खेलाडी मोलाइले एक प्रतियोगिता बहिष्कार नै गरे । उनको खेल पनि इजरायलसँगै थियो । २०२० मा उनले मंगोलियाको नागरिकता लिए ।