इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले उल्भ्सका मिडफिल्डर म्याथ्युज नुनेज भित्र्याउन ४७.३ मिलियन पाउन्ड खर्चेको छ । उल्भ्सका मिडफिल्डर नुनेजले राम्रो प्रस्ताव आउँदा सिटीमा जाने इच्छा देखाएका हुन् । सिटीले मिडफिल्ड बलियो बनाउन उनीमाथि महँगो रकम खर्चिएको बिबिसीले जनाएको छ ।
यसअघि उल्भ्सले आफ्ना खेलाडी बेच्न सिटीसँग ६० मिलियन पाउन्ड माग राखेको थियो । गत साता सिटीले नुनेजलाई भित्र्याउने प्रस्ताव पठाउँदा उल्भ्सको मागमाथि पुनर्विचार हुने जनाएको थियो । यद्यपि, दुई क्लबको वार्ताभन्दा नुनेजको चाहनाले बाजी मारेको हो ।
पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी पछिल्लो समय लयमा छन् । साउदी अरेबिया प्रो लिगमा केही मुख्य खेलाडी जाँदा सिटीको मिडफिल्ड र फिनिसिङ कमजोर देखिएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्ड बलियो बनाउन नै नुनेजलाई अनुबन्ध गर्नुपर्ने दबाब व्यवस्थापनलाई दिएका थिए । उल्भ्सले आफ्ना राम्रा खेलाडीलाई बेच्दा इंग्ल्यान्डको यू–२१ बाट खेल्ने टोमी ड्योललाई भित्र्याउने प्रयास गरेको छ । उनलाई लोनमार्फत ४.३ मिलियन पाउन्ड खर्चंदै अनुबन्धको तयारीमा उल्भ्स रहेको छ ।
मिडफिल्डर केभिन डे ब्रयने चोटका कारण चार महिना बाहिर रहने भएपछि म्यानचेस्टर सिटीले उल्भ्सका म्याथ्युज नुनेजलाई शुक्रबारसम्म अनुबन्ध गर्ने
सिटीका मिडफिल्डर तथा मुख्य खेलाडी केभिन डे ब्रुयनेलाई चोटको समस्या छ । इंग्लिस प्रिमियर लिगका तीन खेल सकिँदा केभिन प्रभावशाली देखिएका छैनन् । चोटकै कारण उनी चार महिना मैदानबाहिर बस्नुपर्ने प्रशिक्षक पेपले जानकारी दिएका छन् । प्रशिक्षक पेपले केभिनको स्थानमा आगामी खेलमै नुनेजलाई समावेश गर्ने तयारी गरेका छन् ।
चोटग्रस्त केभिन
‘हाम्रा मुख्य मिडफिल्डर खेलाडी केभिन चोटका कारण चार महिना बाहिर रहने पक्का भएको छ, उनको स्थानमा विश्वासिलो खेलाडी आवश्यक परेको छ,’ उनले भने, ‘यति वेला केभिनको स्थान लिन सक्ने खेलाडीका रूपमा नुनेजलाई लिएका छौँ, यसै कारण पनि उनलाई भित्र्याउन सोचेभन्दा बढी खर्च भएको हो ।’ उल्भ्सका प्रशिक्षक ग्यारी ओ नेलले शुक्रबारसम्म दुई क्लबबीच सम्झौता भइसक्ने जनाए ।
नुनेजले मंगलबार काराबाओ कप खेलेका थिए । उल्भ्सले ब्ल्याकपुललाई हराउँदा उनको योगदान रह्यो । ‘हामीलाई आशा छ, नुनेजसँगको सम्झौता शुक्रबारसम्म हुनेछ,’ प्रशिक्षक ग्यारीले भने, ‘उनलाई पठाउँदा क्लबले राम्रो सम्झौता रकम पाएको छ ।’ पाँच वर्षअघि उल्भ्सले कीर्तिमानी रकममा नुनेजलाई स्पोर्टिङ लिस्बनबाट भित्र्याएको थियो ।