३ प्रश्न

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समितिले १५ भदौभित्र विभाग गठन गरिसक्ने निर्णय गरे पनि त्यो पूरा नहुनुलाई के भन्नुहुन्छ ?
सायद नेतृत्व पार्टीका भ्रातृ संस्थाहरूको पुनर्गठनलाई पूर्णता दिइसकेपछि विभाग गठनलाई अघि बढाउन चाहन्छ । तर, अहिले जति पनि भ्रातृ संस्थाहरूको पुनर्गठन भएको छ, त्यसपछि असन्तुष्टिका स्वरहरू झनै बढेका छन् । संस्थापन पक्षले एकपक्षीय रूपमा भ्रातृ संस्था पुनर्गठन गरेपछि विभाग गठनमा संस्थापन र इतर समूहबीच सहमति हुन नसकेको हुनुपर्छ । सायद त्यसैले गर्दा ढिलाइ भइरहेको होला । 

भ्रातृ संस्थाहरूभित्रको विवादबारे के भन्नुहुन्छ ?
कांग्रेस नेतृत्वले तरुण दल, महिला संघ, नेविसंघजस्ता भ्रातृ संगठनको पुनर्गठन गरे पनि त्यो लगभग एकपक्षीय भएको छ । यसमा विगतको महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी शेखर कोइरालाले पाएको ४० प्रतिशत मतलाई आधार मान्ने कि केन्द्रीय समितिमा शेखर–गगन समूहका सदस्यको ३० प्रतिशतलाई आधार मान्ने भन्नेमा विवाद देखिन्छ । नेतृत्वले आफूभन्दा विपरीत धारमा उभिएका पार्टीका नेता तथा कार्यकर्तालाई न्याय नहुने गरी भ्रातृ संस्था पुनर्गठन गरेको हुनाले समस्या देखिएको हो ।  

कांग्रेस किन यसरी लथालिंग अवस्थामा रहेको होला ?
लथालिंग नै त भन्न नमिल्ला । पहिले पहिले चार वर्षसम्म लाग्थ्यो, विभागले पूर्णता पाउन । अहिले भने लगभग डेढ वर्षमा यो पूरा हुने अवस्था देखिँदै छ । तर, सभापति विधानसम्मत चल्न सकेको देखिन्न । इतर समूहले पनि सभापतिको एकपक्षीय निर्णयपछि साथ दिन सक्ने अवस्था देखिन्न । त्यसले गर्दा मात्र समस्या देखिएको हो ।

सुझावित समाचार