संखुवासभामा भालुको आक्रमणबाट दुईजना गम्भीर घाइते

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण
संखुवासभामा भालुको आक्रमणबाट दुईजना गम्भीर घाइते

प्रतिकात्मक तस्बिर

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र भालुको आक्रमणबाट बुधबार दुईजना गम्भीर घाइते भएका छन्।

भोटखोला गाउँपालिका— ४ स्थित इलामे गाउँका स्थानीय ३९ वर्षीय प्रेम गुरुङ र २६ वर्षीय राजमान राई गम्भीर घाइते भएकाे स्थानीय मनोज गुरुङले जानकारी दिए। उनका अनुसार दिउँसो करिब ३ बजेतिर मकैबारीमा रहेका उनीहरूलाई भालुले एक्कासि आक्रमण गरी गम्भीर घाइते बनाएको हो। बारीमा मकै रुङ्न बसेका स्थानीयहरूलाई मकै खान आएको भालुले मानिस आक्रमण गरी गम्भीर घाइते बनाएको हो।

गोला प्रहरी चौकीका अनुसार घाइते भएका दुलाई उपचारका लागि गोलबजारस्थित स्वास्थ्य चौकी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर भएकाले मकालु बरुण राष्ट्रिय निकुञ्जसँग समन्वय गरी हेलिकोप्टर ल्याउन कुराकानी भइरहेको स्थानीय गुरुङको भनाइ छ।

संखुवासभाको उत्तरी क्षेत्रका भोटखोला, मकालु र सिलिचोङका स्थानीयहरू बर्सेनी भालुको आक्रमणबाट घाइते हुने गरेका छन्। मकालु बरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखम्बु जिल्लासम्म फैलिएको छ।

सुझावित समाचार