पोखराको फिर्केखोला अतिक्रमण गरेर १४७ घर निर्माण

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

पोखरामा फिर्केखोला अतिक्रमण गरेर एक सय ४७ वटा घर निर्माण गरेको पाइएको छ । महानगरका सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा रहेको टोलीले ०३२ को नक्साअनुसार खोलाको नक्सांकन गर्दा एक सय २२ वटा व्यक्तिगत घर र २५ वटा सार्वजनिक भवन निर्माण गरेको पाइएको हो । व्यक्तिगत घरमध्ये ३५ वटा पक्की र ८७ वटा कच्ची रहेका छन् । पौडेलका अनुसार खोलाको मापदण्ड तय भएको छैन, तर नक्साका आधारमा चार मिटरदेखि ४० मिटरसम्मको क्षेत्रलाई खोला मानेर छुट्याइएको हो । फेवातालमा मिसिने नौ किलोमिटर लामो फिर्केखोला संरक्षणका लागि सीमांकन र रेखांकन गरिएको हो ।  

यसअघि फागुन ०७५ मा महानगरले इन्जिनियर महेन्द्र गोदारको नेतृत्वमा एक टोली गठन गरी खोलाको सीमांकन गरेको थियो । त्यतिखेर घरसँगै खोला किनारबाट दायाँ–बायाँ पाँच–पाँच मिटर मापदण्ड कायम गरिएको थियो । पाँच–पाँच मिटर मापदण्ड कायम गर्दा एक सय ९२ स्थानमा खोला मिचेर संरचना निर्माण गरिएको फेला परेको थियो । 

०७५ मा भएको सीमांकनलाई बेवास्ता गर्दै महानगरले फेरि मापदण्ड यकिन नगरी खोलाघर छुट्याउने काम मात्र गरेको हो । पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले खोलाघर छुट्याउने काम भइसकेको र अब मापदण्ड कायम गरिने बताए । ‘खोलाघर क्लियर गरेपछि अब मापदण्ड दायाँ–बायाँ पाँच–पाँच मिटर कायम गर्ने वा अन्य विकल्पबारे छलफल भइरहेको छ,’ उनले भने ।

५८४ स्थानमा पिलर गाडियो, २३९ स्थानमा चिह्न लगाइयो
फिर्केखोला सीमांकन र रेखांकनका क्रममा पाँच सय ८४ स्थानमा पिलर गाडिएको छ । संरचना बनेका र पिलर गाड्न नसकिने दुई सय ३९ स्थानमा भने चिह्न लगाइएको छ । 

पोखरा– १८ सराङकोटस्थित अधेरीकुनाबाट सुरु भएको फिर्केखोला महानगरका विभिन्न आठवटा वडाको बस्ती छिचल्दै करिब नौ किलोमिटरको यात्रा तय गर्छ । र, पोखरा ६ र १७ नम्बर वडामा पर्ने फेवातालको ड्यामसाइटनजिकैको गाईघाटबाट सीधै तालमा मिसिने गर्छ । १८ नम्बरवाट सुरु भएको फिर्के २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालसम्म पुगेको छ ।

See More On

सुझावित समाचार