जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट राष्ट्रको सम्मान

ब्राजिलको रियो डी जेनेरियोमा ३–१० भदौसम्म चलेको यू–१५ जिम्न्यासाइडमा नेपालले एक स्वर्ण र दुई कांस्य पदक जित्यो

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ)को आयोजनामा ३ देखि १० भदौसम्म ब्राजिलको रियो डी जेनेरियोमा सञ्चालन भएको आइएसएफ यू–१५ जिम्न्यासाइडमा नेपाललाई उत्कृष्टमध्येको एक टोलीबाट सम्मानित गरिएको छ । सहभागी ४४ मध्येबाट १७ राष्ट्र सम्मानित हुँदा नेपाल पनि परेको हो ।

आइएसएफका अध्यक्ष फ्रान्सका लाउरेन्ट पेट्रान्काले एक समारोहबीच नेपाली टोलीका प्रमुख मोहनकुमार कार्कीलाई उत्कृष्ट राष्ट्रको तक्मा प्रदान गरेका थिए । कार्कीले सम्मान नेपालका लागि निकै महत्वपूर्ण भएको बताए । ‘नेपाल आइएसएफको हरेक अभियानको एक हिस्सा बन्दै आएको छ, हामी आइएसएफका हरेक गतिविधिमा नियमित सहभागी हुँदै आइरहेका छौँ,’ उनले भने, ‘यू–१५ जिम्न्यासाइड पनि त्यसको निरन्तरता हो, यसले ऊर्जा थपेको छ ।’

तेक्वान्दो र बक्सिङमा पदक
प्रतियोगिता सम्पन्न हुँदा नेपालले एक स्वर्ण दुई कांस्य जितेको छ । पौडी खेलाडी श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसक्दा ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यू–१५ जिम्न्यासाइड २०२३ मा नेपाल तीन पदकमै सीमित भएको हो । नेपालले तेक्वान्दोबाट एक स्वर्ण र बक्सिङबाट दुई कांस्य हात पारेको थियो । रियो डी जेनेरियोको ओलम्पियन पार्कमा शनिबार तेक्वान्दो, पौडी र टेबुल टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका कुनै पनि खेलाडीले सफलता प्राप्त गर्न सकेनन् । आयोजक ब्राजिल प्रथम र चीनले दोस्रो स्थान हात
पारेको छ । 

५० मिटर महिला फ्री स्टाइलमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भइन् । उनीहरूले हिट चरण पार गर्न सकेनन् । ५० मिटर पुरुष फ्री स्टाइलमा सुगम श्रेष्ठ सिन्या पनि हिट चरणबाटै बाहिरिए । स्वर्ण पदक आशा गरिएको तेक्वान्दोका उज्वल वाग्ले ६५ केजीभन्दा माथि तौल समूहको क्वार्टरफाइनलमा साइप्रसका प्रतिद्वन्द्वीसँग पराजित भए ।

४४ राष्ट्रका दुई हजार खेलाडी
प्रतियोतिगामा ४४ देशका दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेका थिए । नेपालबाट पाँच खेलका १९ खेलाडीले सहभागिता जनाए । नेपालबाट ३२ सदस्यीय टोलीले प्रतियोगितामा भाग लिएको थियो । नेपाली टोलीका प्रमुख कार्कीले विश्वका उत्कृष्ट खेलाडीबीच नेपालीले पनि राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘विश्वका उत्कृष्ट राष्ट्रका खेलाडीमाझ नेपाली खेलाडीले गरेको प्रदर्शन र प्राप्त पदकबाट खुसी छौँ,’ उनले भने, ‘सरकारले विद्यालय खेलकुदमा लगानी थप्न सके आगामी दिनमा अझ पदक बढाउन सकिन्छ ।’

सुझावित समाचार