प्रधानन्यायाधीशले थाले सर्वोच्चमा सुधार : पेसी व्यवस्थापनमा आजबाट स्वचालित प्रणाली लागू हुँदै

गोलाप्रथाबाट हुँदै आएको न्यायाधीशको पेसी स्वचालित प्रणालीमा जान समय लाग्ने

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतमा सोमबारदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ । पदभार सम्हालेसँगै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार (११ भदौ) बाट स्वचालित पेसी प्रणाली सुरु हुने बताएअनुसार बिहान ११ बजे सर्वोच्चमा यसको सुरुवात गर्दै छन् । उनले ५ भदौमा सर्वोच्चको नेतृत्व सम्मालेका थिए । 

‘पहिले कर्मचारीको तजबिजका आधारमा पेसी तारिख तोकिन्थ्यो । अब सिस्टमबाटै तोकिने भएको छ । यस्तोमा कर्मचारीमाथि प्रश्न उठ्दैन, सेवाग्राहीलाई पनि सहज हुन्छ,’ आइतबार पत्रकारहरूसँगको भेटमा प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘पहिले सर्वोच्चमा परीक्षण गर्छौँ । के–कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि बढी मुद्दाको चाप हुने काठमाडौं जिल्लालगायतका अदालतहरूमा पनि यो प्रणाली लागू हुन्छ ।’

प्रधानन्यायाधीश श्रेष्ठका अनुसार पक्षले चाहेमा पेसी र अदालती कामकारबाही शीघ्र फस्र्योट हुन सक्छन् । तर, पेसीमै पनि पक्षहरूबीच मतैक्यता नहुँदा तथा एउटा पक्षले ढिलाइ गर्न चाहेमा वा अर्को पक्षलाई दुःख दिने नियतले कतिपय अवस्थामा ढिला हुने गरेको उनले बताए । 

उनले न्यायपालिकाभित्रका विकृति–विसंगति हटाउने तथा न्यायपालिकाप्रति आस्था बढाउने गरी काम गरिरहेको बताए । न्यायपरिषद्मा उजुरीहरू थुप्रिएकोमा उनले ती सबै बिस्तारै फस्र्योट हुने बताए । न्यायपरिषद्ले नै गर्ने न्यायाधीश नियुक्तिसमेत शीघ्र गर्ने तयारीमा आफू रहेको उनको भनाइ थियो । 

‘न्यायाधीश नियुक्ति नभई नहुने भएको छ । इजलासहरू खाली हुँदै गएको हामीले महसुस गरेका छौँ,’ श्रेष्ठले भने, ‘न्यायाधीश नहुँदा सबै ठाउँमा असर परेको छ । क्षमतावान् न्यायाधीश नियुक्त हुनेछन् ।’ हाल सर्वोच्च अदालतमै सातजना न्यायाधीशको पद रिक्त छ भने सातमध्ये ६ उच्च अदालतमा मुख्य न्यायाधीश छैनन् । उच्च अदालतहरूमा एकतिहाइ न्यायाधीशको पदपूर्ति हुन सकेको छैन । जिल्ला अदालतहरूमा पनि तीन दर्जन हाराहारी पद रिक्त छन् । सामान्यतया संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने भए पनि पछिल्लो वर्षमा नियमित थिएन । उनले नेतृत्व गरेयता नियमित बसेको छ । दुईपटक इजलास बसेर विभिन्न गम्भीर तथा महत्वपूर्ण विषयमा आदेशसमेत जारी गरिसकेको छ । 

 गोलाप्रथा हट्न समय लाग्ने
हाल सर्वोच्चका साथै देशभरका अदालतहरूमा गोलाप्रथाबाट न्यायाधीशहरूको पेसी तोकिँदै आएको छ । १५ मंसिर ०७८ देखि गोलाबाट पेसी तोक्न थालिएको हो । सर्वोच्चको न्यायाधीशहरूको पेसी पनि स्वचालित प्रणालीबाट तोक्ने तयारी छ । तर, यसका लागि पर्याप्त तयारी नपुगेको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश श्रेष्ठले अटोमेसनमा जान आवश्यक जनशक्ति र प्राविधिक तयारी नपुगेकाले सुरु गर्न नसकिएको बताए । स्वचालित पेसीका लागि झन्डै दुई करोड रुपैयाँ तत्काल खर्च लाग्ने देखिए पनि कतैबाट सहयोग नआएको उनको भनाइ थियो । 

‘स्वचालित पेसी प्रणाली भनेको स्वचालित तारेख दिनेभन्दा फरक हो । यसका लागि प्रविधि चाहियो, र जनशक्ति चाहियो । हामीले सहयोग मागिरहेका छौँ,’ उनले भने, ‘सुरुमा दुई करोड लाग्ने भनियो । तर, कतैबाट सहयोग भएको छैन ।’ उनले अन्तिम विकल्प अटोमेसन नै भएकाले यसका लागि आवश्यक प्रयास आफूले गरिरहेको बताए । यसको ‘मास्टर की’ वा ‘एक्सेस’ कोसँग रहने, ह्याक हुन सक्नेजस्ता समस्या समाधानका लागि सर्वोच्चबाट आवश्यक पहल भइरहेको उनको भनाइ थियो ।

सर्वोच्चको न्यायाधीशमा शर्मा पुनः सिफारिस
न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा एक वर्षअघि नै सिफारिस भएका विनोद शर्मालाई पुनः सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, कानुनमन्त्री धनराज गुरुङ र परिषद् सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीसमेतको आइतबार बसेको बैठकले उनलाई सिफारिस गरेको हो । 

गत वर्ष २१ भदौमा तत्कालीन प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले शर्माका साथै उच्चकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र वरिष्ठ अधिवक्ता दीनानाथ पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, उनीहरूको संसदीय सुनुवाइ हुन नपाई संसद्को कार्यकाल समाप्त भएको थियो । 

दीक्षित उमेरहदका कारण उच्चबाटै सेवानिवृत्त भइन् । उनी उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश थिइन् । यसैगरी शर्मा भने उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश थिए । गत वर्ष सिफारिस भएकाहरूको सिफारिस नयाँ संसद् आएपछि के हुने भन्ने अन्योलबीच तीनजनामध्ये शर्मालाई पुनः परिषद्ले सिफारिस गरेको छ । हाल सर्वोच्च अदालतमा सात न्यायाधीशको पद रिक्त छ । 

बैठकले बाल अदालत गठनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई परामर्श दिने निर्णयसमेत गरेको छ । यसबारे ३२ वर्षअघिदेखि नै कानुनी व्यवस्था छ । तर, सर्वोच्चबाट समेत आदेश भए पनि अदालत गठन हुन सकेको थिएन । तीन महिनाअघि कानुन मन्त्रालयले बाल अदालत गठनका लागि परिषद्सँग परामर्श मागेको थियो । 

सुझावित समाचार