‘मर्स्याङ्दी ग्रुप’ले जलविद्युत् आयोजना निर्माण गर्ने

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका– २ मा पर्ने किचेखोलामा स्थानीय बासिन्दाको लगानीमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ। 

गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ले गाउँपालिकामा कम्तीमा एक मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो। मर्स्याङ्दी गाउँपालिका– २ घनपोखराको किचेखोलाको पानीलाई सदुपयोग गरी लघु जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरिएको हो। 

‘मर्स्याङ्दी ग्रुप’को शुक्रबार गाउँपालिकामा आयोजित सेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत् आयोजना निर्माणका लागि मर्स्याङ्दी जलविद्युत् कम्पनी लिमिटेड गठन गरेको छ। 

कम्पनी सञ्चालक समितिको अध्यक्षमा संविधानसभा सदस्यसमेत रहेका जमिन्द्रमान घले छन्। सदस्यहरूमा चेतबहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन भएका छन्। 

समितिको प्रमुख सल्लाहकार राप्रपा उपाध्यक्षसमेत रहेका हेमजङ गुरुङ र सल्लाहकारहरूमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन्।

जलविद्युत् आयोजना निर्माणका लागि कम्पनीले आवश्यक सबै प्रक्रिया थाल्नेछ। आयोजना निर्माणका लाग्ने बजेट ग्रुपले व्यवस्थापन गर्ने मर्स्याङ्दी गाउँपालिका अध्यक्षसमेत रहेका मर्स्याङ्दीर ग्रुपका अध्यक्ष अर्जुन गुरुङले बताए। 

उनका अनुसार छिट्टै सबै कानुनी तथा प्रक्रियागत थालनी कम्पनीले अघि बढाउनेछ। ग्रुपका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य जमिन्द्रमान घले र राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले विशेष सम्बोधन गरेका थिए। दुवैजनाले मर्स्याङ्दी गाउँपालिकाको सर्वांगीण विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए। 

मर्स्याङ्दी गाउँपालिकामा उद्योग–व्यवसाय स्थापना गरेर रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा करिब पाँच सयजना जोडिएका छन्। 

उनीहरूले पहिलो किस्तास्वरूप २५ हजार रुपैयाँ जम्मा गरेका छन्। सेयर राख्न अझै पर्याप्त समय र सूचना नपाएको जनगुनासोलाई मध्यनजर गर्दै भदौ १० गतेसम्म समय थप गर्ने निर्णय गरेको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि, वनपैदावार र नदी तथा पर्यटनमा आधारित उद्योग व्यवसाय स्थापना गरी स्थानीयलाई रोजगारी दिने र स्थानीयको आर्थिक स्तर उकास्न विभिन्न क्रियाकलाप सञ्चालन गर्न मर्स्याङ्दी ग्रुप गठन गरिएको छ। ग्रुपमा करिब पाँच सयभन्दा बढीले सेयर किनेका छन्। ग्रुपमा जोडिनेले न्यूनतम ५० हजारदेखि ३० लाखसम्म लगानी गर्न पाउनेछन्।

See More On

सुझावित समाचार