नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजका विद्यार्थीले ‘फुड एन्ड आर्ट’ महोत्सव आयोजना गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका लुभुस्थित जिनियस आइबी वर्ल्ड स्कुलमा महोत्सवको आयोजना गरिएको हो।
महोत्सवको एमाले नेता एवं पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे। कार्यक्रममा नेपाली र विदेशी गरी खानाका १६ परिकार र विभिन्न डिजाइनका मोडल प्रदर्शन गरिएको थियो।
महोत्सवमा कलेजका ब्याचलर अफ होटेल म्यानेजमेन्ट, ब्याचलर अफ हस्पिट्यालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन, ब्याचर लफ इन्टेरियर डिजाइन र मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसनका ६ सयसहित होटेल व्यवस्थापन अध्ययनरत विभिन्न कलेजका गरी एक हजार विद्यार्थी सहभागी थिए।
अध्ययनका क्रममा आफूहरूले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरू प्रदर्शनीमा राखिएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी पविना श्रेष्ठले बताइन्। उनका अनुसार खानाका चारवटा स्टल र डिजाइनिङको दुईवटा स्टल राखिएको थियो। श्रेष्ठले भविष्यमा आफैँले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि महोत्सवबाट व्यावहारिक ज्ञान आर्जन भएको बताइन्।