एक प्रेमजोडीले हल्लाएको दक्षिण एसियाली राष्ट्रवाद

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

दुई प्रेमीले शत्रु मुलुक भारत र पाकिस्तानको ध्यान खिचेका छन् । यही मे महिनामा २२ वर्षीय सचिन मीना र २७ वर्षीाय सीमा गुलाम हैदरको नेपालमा पहिलो प्रेम मिलन भएको थियो । र, जोडीको भारत प्रवेशपछि गत महिना नोइडाको एक स्थानीय प्रहरी थानाले पाकिस्तानी नागरिक रहेकी सीमालाई अवैध रूपमा भारत प्रवेश गरेको भन्दै गिरफ्तार गर्यो ।

भारतको एक अदालतले सीमाले ‘कुनै दुर्नियत राखेर भारतको सीमाभित्र प्रवेश नगरेको’ भन्दै जमानत दियो । अनलाइन गेमिङ प्लेटफर्ममा भर्चुअल्ली भेट भएको यो जोडी दिल्लीनजिकको सहरमा बसोवास गर्छ । दुवैजनाले दैनिक सोधपुछ व्यहोर्दै न्यायिक फैसला कुर्दै गर्दा केहीले जोडीलाई ‘खुसी पारिवारिक मिलन’को संज्ञा दिँदै छन् भने भारत र पाकिस्तानका दक्षिणपन्थी राष्ट्रवादी धम्कीको भाषा बोल्दै सीमालाई पाकिस्तान पुर्याउनुपर्ने माग गरिरहेका छन् । 

प्रेमको धृष्टता :  भारत र पाकिस्तान अलग मुलुक भएको ७६ वर्ष मात्रै भएको छ । अहिले पाकिस्तानीले भारतको र भारतीयले पाकिस्तानको भिसा पाउन ठूलो पापड बेल्नुपर्ने वेला दुई मुलुकका मानिस प्रेमबन्धनमा बाँधिएर एक ठाउँमा आउनु आफैँमा ठूलो उपलब्धि हो । गत महिना अन्जु नामकी भारतीय महिला फेसबुकमा माया बसेपछि नसुरुल्लाहसँग विवाह गर्न भारतीय सीमा पार गरेर पाकिस्तान पुगेकी थिइन् । प्रेमको धृष्टताले सीमाका बाँधलाई भत्काइदिएको छ । 

तर, सीमा र सचिनको मिलनले प्रेमले सिमाना पार गर्छ भनेर मात्रै देखाएको छैन, यसले दुवै सीमामा रहने मानिस प्रेमलाई वर्जित गर्न चाहन्छन् भन्ने पनि देखाएको छ । सीमालाई सचिनसँगै भारतमा बस्ने मौका मिल्न सक्छ तर सबै प्रेमीजोडी भारत र पाकिस्तानको सीमा पार गर्न सक्दैनन् । भारत–पाकिस्तानको औपनिवेशिक सीमाले को नागरिक, को विदेशी वा को मूल, को आप्रवासी भनेर मानिसमाझ विभाजन ल्याइदिएको छ । साझा इतिहास भएका मुलुक नाता एवं सम्बन्धलाई टुक्य्राउने गरी पर्खाल ठड्याइरहेका छन् । 

सचिन र सीमाको पहिलो मिलन युद्धस्थलको नक्कल गर्ने अनलाइन गेमिङ प्लेटफर्मबाट भएको हो भन्ने कुरा निकै प्रहसनात्मक र अस्वाभाविक लाग्छ । अहिले मुलुकहरू बढ्दो रूपमा एकअर्कासँग टाढा हुँदै गरिने युद्धमा संलग्न भइरहँदा सरहदले छुट्याएका मानिस डिजिटल स्क्रिनमा एकअर्कासँग साक्षात्कार गरिरहेका छन् । जीवन एक मिथ्याभास बनिरहेको छ । के सीमा र सचिन राष्ट्रवादीलाई निःशस्त्र पार्दै आपसी वैमनस्य मेटिरहेका छन् ? यदि नागरिकले नै प्रेमका लागि राष्ट्रको सीमा उल्लंघन गरिरहेका हुन् भने यी राष्ट्र कसका लागि ? 

आप्रवासन अधिकारलाई कुण्ठित गर्ने राष्ट्रिय सीमाको वैधानिकतामाथि प्रश्न गरेपछि मात्र दक्षिण एसियाको राष्ट्रवादी राजनीतिलाई चुनौती दिन सकिन्छ

सीमा र सचिनको मिलनलाई प्रेमीहरूको विजय भन्ने हो भने यिनको प्रेमद्वेषीहरूका लागि खुराक पनि हो । र, सीमाको स्वागत र तिरस्कार दुवै भएको छ । सामाजिक सञ्जालमा भारतीयहरू सीमालाई पाकिस्तानी जासुसको संज्ञा दिइरहेका छन् । पाकिस्तानी पनि सीमाको सिन्धी पहिचान र हिन्दूमा परिणत भएको विषयलाई इंगित गर्दै भारतीय जासुसका रूपमा देख्छन् । के सचिन–एक हिन्दू पुरुषले सीमालाई सन्तुष्ट पार्न सक्छन् ? के सीमा, जसले आफूलाई परिवर्तन गरिन्, ती आफ्नो परिवारमा फिर्ता आउन सक्छिन् ?  

बहुसंख्यक पाकिस्तानी ‘आफ्नी’ महिलालाई गुमाएकामा क्रुद्ध छन् भने बहुसंख्यक भारतीय ‘अर्काकी’ महिलाको बफादारीमाथि प्रश्न गरिरहेका छन् । एक प्रेममा परेकी महिलाले दुवै भारतीय र पाकिस्तानीलाई सशंकित बनाएकी छिन् । दुवै मुलुकका राष्ट्रवादी विभिन्न संकेत एवं भाष्यबाट एक किसिमको विदेशीद्वेष प्रकट गरिरहेका छन् । दुवै मुलुकका रंगीन झन्डाले दुवै मुलुकका राष्ट्रवादीलाई एकै ठाउँमा ल्याएको प्रतीत हुन्छ, अर्थात् यो समानताले पुरुषले महिलाको निर्णयलाई नियमन गर्छन् भनेर हामीलाई फेरि एकपटक सम्झाइदिएको छ । 

महिलालाई आश्रय दिने पितृसत्तात्मक राज्य :  मुलुक विभाजनयता दुवै मुलुकले आफूलाई एक पितृसत्तात्मक आश्रयदाता बनाएका छन् । सीमाले भारतलाई आफ्नो वैवाहिक घर हो भन्ने दलिलसाथ भारतमै रहन पाऊँ भनेर भारतीय राष्ट्रपतिसमक्ष याचिका पेस गरेकी छिन् । भारत सरकारले कम्तीमा अहिलेका लागि भए पनि पाकिस्तानी मुसलमान महिलालाई देशमा बस्न अनुमति दिने निर्णय राष्ट्रवादी सत्ताको वर्तमान समयमा हृदयस्पर्शी र चिन्ताजनक दुवै छ ।

पितृसत्तात्मक हिन्दू राष्ट्रवादी भारतमा अहिलेको परिदृश्यलाई उल्ट्याउँदा अर्थात् भारतीय हिन्दू महिलासँगको प्रेम गर्ने पाकिस्तानी मुसलमान पुरुषको स्वीकार्यतालाई कल्पना गर्न सकिन्थेन । त्यसैगरी पाकिस्तानलाई भारतीय हिन्दू पुरुष बेहुला स्वीकार्य हुन्थेन । अन्तरदेशीय आप्रवासनको अध्येताका नाताले मैले धर्म, जात, वर्ग, लैंगिकता, यौनिकता र राष्ट्रियताका आधारमा मात्रै मानिसलाई छनोट गरेर राज्यले स्विकार्छ भन्ने बुझेकी छु । 

उसो त दक्षिण एसियाली लोकप्रिय संस्कृतिका केही सीमित आयाममा हिन्दू र मुसलमानको अन्तर–धार्मिक विवाहलाई रुचाइन्छ । जोधा–अकबर वा सैफ अली खान–करिना कपुर केही उदाहरण हुन् । दुर्भाग्य, अन्तर्जातीय र लैंगिक एवं यौन अल्पसंख्यकबीच हुने विवाह/प्रेम सम्बन्धको स्वीकृति राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको दायराभन्दा बाहिर छ ।

राष्ट्रवादी राजनीतिले मानव निर्मित सीमाका पर्खाल कसले नाघ्न पाउँछ वा पाउँदैन भनेर तय गर्छ । नतिजा, ‘यात्राको स्वतन्त्रता’मा ठूलो अन्तर देख्न सकिन्छ । जब हामी व्यक्तिको विचरणमाथि प्रश्न गर्न छोड्छौँ र हाम्रो आप्रवासन अधिकारलाई कुण्ठित गर्ने राष्ट्रिय सीमाको वैधानिकतामाथि प्रश्न गर्छौं, तब मात्रै हामी दक्षिण एसियाको राष्ट्रवादी राजनीतिलाई चुनौती दिन सक्छौँ । यसबीच सीमावारपार कसले गर्न पाउँछ र कसले पाउँदैन भन्ने राजनीतिमा हामीले ध्यान दिनुपर्छ । आशा गरौँ, सबै प्रकृतिका प्रेमीमाथि कुनै रोकटोक नहोस् ।  

(रहेजा कोर्नेल विश्वविद्यालयकी मानवशास्त्रकी उप–प्राध्यापक हुन्) डनबाट 
 

सुझावित समाचार