घनश्याम रिजालको तिजको कोसेली ‘डिपेन्डेन्टमा सुइँकिन बेर छैन’

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

कति चिन्ता लिनी हो र अझै पनि घर्को  
आठ पढेर विदेश गको साथी, घर किनेर फर्को       
अब त म सानो रहिन, अस्ट्रेलिया सुइँकिन बेर छैन
डिपेन्डेन्टमा सुइँकिन बेर छैन

उल्लेखित हरफ गायक घनश्याम रिजालको तिजको एल्बमबाट हो। नजिकै आइरहेको पर्व तिजको अवसर पारेर यसपालि उनले ‘डिपेन्डेन्टमा सुइँकिन बेर छैन’ बोलको गीत दर्शक स्रोतामाझ पस्किएका छन्। 

‘अब देश बन्दैन’ भन्ने निष्कर्ष निकालेर बिदेसिन खोज्ने युवाहरूको बढ्दो ट्रेन्डलाई रिजालले ठट्यौली शैलीमा गीतमा उतारेका छन्। उनलाई स्वरमा चोलेन्द्र पौडेल र लक्ष्मी बनियाँले साथ दिएका छन्। यस्तै, गीतमा पशुपति शर्माले लय भरेका छन् भने शब्द रचना रिजाल स्वयंले गरेका छन्। रिजालले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत बजारमा सार्वजनिक गरेका हुन्। 

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिवसमेत रहेका रिजालका यसअघिका गीतहरू अरूलाई ‘देशमै केही हुन्छ’ भनेर आशा देखाउने खालका हुन्थे। तर, यसपटक उनी आफैँले ‘विदेशतिर सुइँकिन बेर छैन’ भन्दै गीत बजारमा ल्याएका छन्।

गीतमा गायकत्रय रिजाल, पौडेल र बानियाँले आ–आफ्ना प्रेमीप्रेमिकालाई सँगै लिएर घर छाड्ने बताउँछन्। अर्थात्, पछिल्लो समय बढेको डिपेन्डेन्ट भिसामा देश छाड्ने प्रवृत्तिलाई गीतमा समेटिएको छ। नेपालबाट डिपेन्डेन्ट भिसामा बिदेसिनेको संख्या पनि निकै ठूलो छ। अझ अहिले १२ कक्षा पास हुनेबित्तिकै युरोप, अमेरिका तथा अस्ट्रेलिया सुइँकिन तम्तयार युवाहरूको जमात ठूलो देखिन्छ।

देशमै केही गर्छु भनेर बसेका पढालेखा युवाहरू बेरोजगारै हुनुपरेको, तर विदेश जानेहरूले सहरमा घर बनाइसकेको गीतमा सुन्न पाइन्छ । देशमै केही गर्छु भनेर बस्नेले कुनै अवसर नपाएर निरुत्साहित भएको पनि गीतमा सुनिन्छ। ‘जब देशमा कुनै अवसर पाइँदैन, तब विदेश नै जाम कि’ भन्ने सोँच पलाउनु स्वाभाविक पनि हो। 

घरमा बुवा–आमाले तेरा साथीभाइ विदेश गएर प्रगति गरिसके, तर तैँले देशमै बसेर केही पनि गर्न सकिनस् भनेर कचकच गर्ने प्रवृत्ति पनि छ, त्यो प्रसंग पनि गीतमा समेटिएको छ। अझ पछिल्लो समय त विदेश नजाने र सहरमा घर नहुनेलाई समाजले कुनै इज्जत र सम्मान पनि दिन छाडिसकेको छ।   

को हुन रिजाल?

गायक रिजालले सामाजिक यथार्थलाई टपक्क टिपेर गीत संगीतमार्फत पस्किँदै आइरहेका छन्। उनको ‘घर सून्य भो’ पनि सामाजिक यथार्थपरक गीत थियो। ‘बाख्रा पालम्ला’मा बोलको गीतमार्फत ‘अब देशमै केही गर्नुपर्छ, बिदेसिएका युवा हो देश फर्क, गर्न सके यही देशमा सुन फलाउन सकिन्छ, कृषिमा बलियो सम्भवना छ’ भन्ने सन्देश गीतमार्फत फैलाउने काम गरेका थिए। 

उनले कोभिड महामारीको समयमा सहर छाडेर गाउँ फर्किनेहरूलाई लक्षित गरी ‘दुःख पाइँदो रैछ, दुःख पर्दा सबलाई आखिर गाउँ न चाहिँदो रैछ’ बोलको गीत दर्शक स्रोतामाझ ल्याएका थिए।

कोभिड र आर्थिक मन्दीले ठूला/ साना व्यवसायी धराशयी बने। देशमै केही गर्छु भन्नेहरूको बेहाल भयो। अर्कोतिर देशको चरम अस्थिर राजनीतिले अलिअलि बचेको आशा पनि मर्दै जान थाल्यो। देश छिटोभन्दा छिटो छोड्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा धेरै युवा र अभिभावक देखिन्छन्। त्यसकै प्रतिबिम्बका रूपमा ‘अब त मै सानो रहिन, डिपेन्डेन्टमा सुइँकिन बेर छैन’ गीत बजारमा ल्याएको रिजालको भनाइ छ। 

गीत संगीतमा दुई दशक, दुई सयभन्दा बढी रचना

नेपाली गीत संगीतमा झन्डै  दुई दशक बिताइसकेका रिजालको स्वर तथा रचनाका दुई सयभन्दा बढी गीतहरू बजारमा आइसकेका छन्। 

‘भरभर आगो बल्दै हुनेछ’, ‘फोन गर है दिनमा एक फेर’, ‘सबको पछि लाग्ने भाछु म’, ‘सर सर’, ‘अमिलो रसैले’, ‘घर शून्य भो’, ‘बाख्रा पालम्ला’, रत्यौली गीत ‘पुतली रेलैमा’, ‘ओई माया’, ‘साइली’, ‘ढल्के बरको छायाले’, ‘तिम्रो पछ्यौरी’लगायतका गीतहरूले दर्शक स्रोताबाट राम्रै चर्चा पाएका हुन्। 

सुझावित समाचार