झाडीमा फालिएकाे शिशुको त्रिवेणी नगरपालिकाद्वारा उद्धार

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

बाजुराको त्रिवेणी नगरपालिका– ४ तोलीमा सोमबार बिहान एक बेवारिसे शिशु फेला परेकाे छ। गाउँनजिकै झाडीमा फेला परेकाे शिशुको त्रिवेणी नगरपालिकाले उद्धार गरेको छ। 

नगरप्रमुख कर्णबहादुर थापा र उपप्रमुख कमला जैसी न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष गणेश साउदलगायतको टोलीले शिशुको उद्धार गरेर उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख थापाले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुल्न सकेको छैन। भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ। उनी बालक हुन्।

शिशुको उपचारका लागि अछाम बयालपाटा अस्पताल लगिएको त्रिवेणी नगरपालिका नगरप्रमुखका स्वकीय सचिव खेमराज गिरीले जानकारी दिएका छन्। बेवारिसे शिशु कसले फालेको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सुरु गरेको छ। 
 

See More On

सुझावित समाचार