काठमाडौं महानगरपालिकाले गोंगबु, सामाखुसीस्थित ११ केभी हाइटेन्सन प्रसारण लाइनमुनि लाखौँ खर्चेर पार्क निर्माण गर्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ केभी भोल्टेजको प्रसारण लाइनमुनि कुनै पनि संरचना बनाउन मिल्दैन । तर, महानगरपालिकाले २६ वडास्थित गोंगबु आवास क्षेत्र सुधार समितिअन्तर्गत दुई रोपनी क्षेत्रफलमा ६७ लाखभन्दा बढी रकम खर्चेर हराभरा पार्क बनाउन लागेको हो ।
महानगरले २२ असारदेखि सम्झौता गरी ६७ लाख ७३ हजार आठ सय ६७ लागत सम्झौता गरी ठेकेदार कम्पनीलाई पार्क निर्माणको जिम्मासमेत दिएको थियो । तर, जोखिमपूर्ण र बस्नै नमिल्ने ठाउँमा महानगरले लाखौँ रकम खर्चिएर पार्क बनाउन लागेको भन्दै स्थानीय र टोल सुधार समितिले विरोध गर्दै आइरहेका छन् ।
उनीहरूले नेपाल विद्युत् प्राधिकरण सामाखुसी वितरण केन्द्रलाई जानकारी गराएपछि सोमबार केन्द्रले काम रोक्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । शाखा प्रमुख प्रज्वलमान श्रेष्ठले यस्तो ठाउँमा पार्क बनाउन नदिने बताए । ‘यस्तो ठाउँमा मानिस बस्नका लागि पार्क बनाउनुहुँदैन, यो अत्यन्तै जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘यसलाई तुरुन्त रोक्न हामीले सोमबार पत्राचार गरेका छौँ ।’ प्राधिकरणका अनुसार पार्क निर्माण गरेर स्थानीयवासी आराम वा व्यायाम गर्न जाँदा दुर्घटनाको जोखिम हुन्छ । यस पार्कको महानगरपालिकाको सार्वजनिक निर्माण विभागबाट लेआउट र लागत स्टिमेट तयार गरी धमाधम काम भइरहेको छ ।
महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सनको मुनि पार्क बनाउँदा जोखिम र दुर्घटना नहुने दाबी गरे । ‘हामीले ओहोरदोहोर गर्दा कतिवटा हाइटेन्सनमुनिबाट हिँड्छौँ ? त्यसले जोखिम नबनाउने अनि पार्क बनाउँदा जोखिम हुन्छ ?’ उनले भने, ‘हाइटेन्सनमुनिको जग्गामा अग्ला भवन बनाउन मिल्दैन, पार्क बनाएर मानिसलाई बस्ने ठाउँ दिँदा राम्रै हुन्छ, यसले दुर्घटना निम्त्याउँदैन ।’