एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक मंगलबार सुरु हुँदै छ । बिहीबारसम्म चल्ने बैठकले समसामयिक विषयका साथै महाधिवेशनबारे निर्णय लिने एकीकृत समाजवादीले जनाएको छ । आगामी माघमा महाधिवेशनको सम्भावना रहेको नेताहरूले बताएका छन् । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति घोषणा गर्नेछ । महाधिवेशनबाट भावी नीति र नेतृत्व तय हुनेछ । 

केन्द्रीय कमिटी बैठकअघि आइतबार र सोमबार पोलिटब्युरो बैठक बसेको छ । यसअघि स्थायी कमिटी र सचिवालय बैठक बसेको थियो । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोको सुझावका आधारमा अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । दुईदिने पोलिटब्युरो बैठक सोमबार समापन गर्दै अध्यक्ष नेपालले नेपालले एमालेबाट विद्रोहको औचित्य साबित भइसकेको दाबी गरे । आजसम्मका घटनाक्रम र प्रवृत्तिलाई हेर्दा विद्रोह पुष्टि भएको उनको दाबी छ ।

पोलिटब्युरो सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै नेपालले विद्रोह नगरेको भए देशको संविधान, संघीयता र संसद् सबै ओलीले समाप्त गरिसक्ने जिकिर गरे । ‘हामीले विद्रोह नगरेको भए देशको संविधान, संघीयता र संसद् सबै ओलीले समाप्त गरिसक्ने थिए । पार्टीभित्र हाम्रो विचार समूहलाई चरम अत्याचार गरिने पक्का थियो । आजसम्मका सबै घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो विद्रोहको औचित्य साबित भइसकेको छ,’ नेपालको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

सुझावित समाचार