सर्वदलीय बैठक ७ बजेलाई सर्‍यो, ओली पनि सहभागी हुने

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण
सर्वदलीय बैठक ७ बजेलाई सर्‍यो, ओली पनि सहभागी हुने

फाइल तस्बिर

आज अपराह्न ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठक केही घन्टा पछि सरेको छ। सुर्खेत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्कन समय लाग्ने भएकाले बैठक सारिएको हो।

मौसम खराबीका कारण सुर्खेतबाट जहाज उड्न नसक्दा उनलाई आउन ढिला हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री अहिले नेपालगन्ज आइपुगेका र त्यहाँबाट काठमाडौं आउन समय लाग्ने भएकाले अपराह्न ४ बजे बोलाइएको बैठक ७ बजेलाई सारिएको हो।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ। संसद् सुचारु गराउने विषयमा छलफलका लागि आज सर्वदलीय बैठक बोलाइएको हो।

प्रधानमन्त्रीको सचिवालयले बैठक ७ बजे बस्ने जानकारी गराएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली उपस्थित हुनेछन्। स्वस्थ्यमा समस्या हुँदा उनी आइतबारको बैठकमा अनुपस्थित थिए।

सुझावित समाचार