कोसी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छिन्। उपसभामुख दनुवारले कोसी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन्।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरिएको छ।
कोसी प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चारजना सदस्य तोकिएको थियो। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी थिइन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर विष्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना प्रदेश सभा सचिवालयलाई दिएका थिए। सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका लागि उपसभामुख दनुवारले पत्र लेखेकी थिइन्।
यसैबीच प्रदेश सभाको आजको बैठकमा नेकपा एमालेका तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेश सभा सचिवालयमा जानकारी गराएकाे प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
यसैगरी, आज बिहान साढे आठ बजे बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरूबीच दिउँसो १२ः१५ मा बस्ने सहमति भएको छ। आज बिहानको बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहभागिता थियो।