चुहानडाँडा विमानस्थल बनाउन एक अर्ब लाग्ने

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

तेह्रथुमको अठराई गाउँपालिका–६ मा प्रस्तावित चुहानडाँडा विमानस्थल बनाउन एक अर्ब लगानी लाग्ने भएको छ । वन मन्त्रालयमा पेस गरिएको चुहानडाँडा विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर हुने उल्लेख छ ।

चुहानडाँडा विमानस्थल समुद्री सतहबाट एक हजार चार सय ५० मिटर उचाइमा रहनेछ, जहाँ बाह्रै महिना उडान–अवतरण गर्न मिल्ने गरी विमानस्थल निर्माणको तयारी थालिएको हो । विमानस्थलमा ३० मिटर लम्बाइ र १५ मिटर चौडाइको ट्याक्सी वे, ६० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन निर्माण गर्ने प्रस्ताव गरिएको छ । एप्रोनमा दुईवटा विमान पार्किङ गर्न मिल्नेछ ।

यस्तै, विमानस्थलमा टर्मिनल भवन, कर्मचारी कक्ष, पुलिस कक्ष, कार्गो भवन निर्माण हुनेछ । टर्मिनल भवनको यात्री क्षमता ५४ जना रहने उल्लेख छ । सो विमानस्थलमा डिएचसी–६ ट्विनअटर, लेट–४१०, डोर्नियर–२२८ वा सोसरहका विमानहरू उडान–अवतरण गर्न सक्नेछन् । विमानस्थलको धावनमार्गमा दुइतर्फी एप्रोच सुविधा हुनेछ ।

विमानस्थल निर्माण स्थलको क्षेत्रफल ११ हेक्टर रहेको छ । आयोजना स्थलमा स्थायी रूपमा करिब ९.१४९ हेक्टर खेतीयोग्य जमिन, आवास क्षेत्रसहित निजी वनको अधिग्रहण हुनेछ । त्यहाँ २१ वटा आवास, गोठ, शौचालय र कटेरो भत्किने प्रतिवेदनमा उल्लेख छ । अधिग्रहण गरिने निजी जमिनको क्षतिपूर्तिबापत एक करोड सात लाख ९० हजार रुपैयाँ छुट्याइएको छ । प्रस्तावित चुहानडाँडा विमानस्थलबाट सबैभन्दा नजिक ११ नटिकल माइल दूरीमा सुकेटार विमानस्थल पर्छ । मध्यपहाडी पुष्पलाल राजमार्गबाट विमानस्थल २४ किलोमिटर दूरीमा पर्छ ।

प्रस्तावित चुहानडाँडा विमानस्थल मौसमको अनुकूलताले गर्दा वर्षभरि नै सञ्चालन गर्न सकिने देखिएको प्रतिवेदनमा उल्लेख छ । साथै, त्यस क्षेत्रको व्यापार, पर्यटन व्यवसाय, सञ्चार तथा यातायातका सुविधा उपलब्ध हुँदा जनसमुदायको जीवनस्तर उकास्नमा पनि मद्दत पुग्ने देखिएको छ । क्यानले आधा दर्जनभन्दा बढी विमानस्थल निर्माण तथा स्तरोन्नतिको काम अगाडि बढाएको छ । 

सुझावित समाचार