सन्तोषजनक छैनन् राष्ट्रिय गौरवका सडक आयोजनाका प्रगति

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

गत आवसम्मको औसत प्रगति ५७.१६ प्रतिशत मात्रै

गत आर्थिक वर्ष ०७९/८० मा राष्ट्रिय गौरवका ६ सडक आयोजनाको औसत भौतिक प्रगति ५७.९५ प्रतिशत पुगेको छ । यी आयोजनाको औसत वित्तीय प्रगति भने ५७.१६ प्रतिशत पुगेको छ । 

असार ०७९ सम्म आयोजनाहरूको भौतिक प्रगति ५१.२७ प्रतिशत र वित्तीय प्रगति ४९.६० प्रतिशत थियो । त्योअनुसार गत आवमा राष्ट्रिय गौरवका सडक आयोजनाको भौतिक प्रगति ६.६८ प्रतिशत विन्दु र वित्तीय प्रगति ७.५६ प्रतिशत विन्दुले बढेको सडक विभागको तथ्यांक छ । राष्ट्रिय गौरवका सडक आयोजनातर्फ मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, कालीगण्डकी लोकमार्ग (बेनी–कोरोला), कालीगण्डकी लोकमार्ग (गैँडाकोट–मालढुंगा खण्ड), कर्णाली करिडोर (हिल्सा–सिमिकोट) र कोसी करिडोर रहेका छन् । यी आयोजनाहरूको कुल लागत दुई खर्ब तीन अर्ब ९१ करोड रहेको छ । 

विभागका अनुसार अघिल्ला आवहरूको तुलनामा गत आवमा यस्ता आयोजनाको भौतिक प्रगति उच्च छ । तर, विभागका महानिर्देशक सुशीलबाबु ढकालले उक्त आयोजनाहरूको भौतिक प्रगति पूर्ण रूपमा सन्तोषजनक नदेखिएको बताए । 

दुई अर्ब बजेट फ्रिज
गत आवमा राष्ट्रिय गौरवका सडक आयोजनाले पाएको बजेटमा झन्डै दुई अर्ब फ्रिज भएको छ । गत आवमा उक्त आयोजनाहरूलाई १९ अर्ब चार करोड २६ लाख बजेट छुट्याइएको थियो । त्यसमा १७ अर्ब सात करोड ९६ लाख खर्च भएको छ । गत आवमा कालीगण्डकी लोकमार्ग (गैँडाकोट–राम्दी–मालढुंगा खण्ड)ले शतप्रतिशत दुई अर्ब ८६ करोड बजेट खर्च गरेको छ । समग्रमा गत आवमा ६ आयोजनाको समग्र बजेट खर्च ८३.७३ प्रतिशत थियो । 

सात अर्ब ५८ करोड बजेट पाएको मध्य पहाडी लोकमार्गले पाँच अर्ब ९९ करोड खर्च गरेको छ । ६ अर्ब ९८ करोड बजेट पाएको हुलाकी राजमार्गले ६ अर्ब ८३ करोड खर्च गरेको छ । यसैगरी, ७२ करोड ५० लाख बजेट पाएको कोसी करिडोरले ६८ लाख ७३ लाख, कालीगण्डकी करिडोरको बेनी–जोनसोम–कोरोला आयोजनाले ६० करोड आठ लाख बजेट पाएमा ५१ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ । २९ करोड १५ लाख बजेट पाएको कर्णाली करिडोरले १८ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।  

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग 
०६४/६५ मा निर्माण सुरु गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ७२.७० र वित्तीय प्रगति ७६.८० प्रतिशत पुगेको छ । कुल लम्बाइ १,८७९ किलोमिटर रहेकामा आयोजनाको लागत अनुमान ८४ अर्ब ३३ करोड छ । गत आवमा यसमा १८ वटा पुल बनाउने लक्ष्य राखिएकामा नौवटा मात्रै पुल तयार भएका छन् । यस आयोजनामा कुल एक सय ३७ पुल बन्नेछन्, त्यसमा हालसम्म एक सय दुईवटा तयार भएका छन् । 

यसैगरी, गत आवमा तीन सय ५७ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको आयोजनाको एक सय ४३ किमि मात्रै सडक कालोपत्रे गरिएको छ । हालसम्म १,४०२ किमि खण्ड कालोपत्रे गरिएको छ । गत आवमै सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको म्याद ०८४/८५ सम्म थप्नुपर्ने प्रस्ताव गरिएको छ । तर, हालसम्म यसअन्तर्गत एक सय १६ किमि सडकको कालोपत्रे र १५ वटा पुलको ठेक्का लाग्नै बाँकी छ । 

हुलाकी राजमार्ग 
०६६/६७ बाट निर्माण सुरु गरिएको हुलाकी राजमार्गको हालसम्मको भौतिक र वित्तीय प्रगति ९१–९१ प्रतिशत पुगेको छ । यस आयोजनाको कुल लम्बाइ १८ सय ५७ किलोमिटर हुनेछ । त्यसको लागत अनुमान भने ६५ अर्ब २० करोड छ । 

गत आवमा यसअन्तर्गत लक्ष्यअनुसार १६ वटा पुल निर्माण भएका छन् । तर, कालोपत्रेतर्फको लक्ष्य भने पूरा भएको छैन । गत आवमा दुई सय ५० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रोखिएकोमा एक सय ४८ किमि पूरा भएको छ । 

चालू आवसम्ममा सम्पन्न गर्नुपर्ने यस आयोजनाको म्याद थपेर ०८३/८४ सम्म पुर्याउने प्रस्ताव गरिएको छ । यस आयोजनामा एक सय ७६ किमि सडकखण्ड कालोपत्रे गर्न र ५० वटा पुल बनाउन ठेक्का सम्झौता गर्र्नै बाँकी रहेको छ । 

कोसी करिडोर
आव ०६५/६६ मा निर्माण सुरु गरिएको यस आयोजनामा ११ अर्ब ९३ करोड लगानी अनुमान गरिएको छ । साथै, आव ०८३/८४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको भौतिक प्रगति र वित्तीय प्रगति ४२ प्रतिशत पुगेको छ । गत आवमा यस आयोजनामा लक्ष्यअनुसार एउटा मात्रै पुल बनेको छ । यस आयोजनामा २१ पुल बन्दै छन्, त्यसमा हालसम्म ११ पुल तयार भएका छन् । यसैगरी गत आवमा १२ किमि सडक ग्राभेल गर्ने भनेको १६ किमि सम्पन्न भएको छ । यसअनुसार यस आयोजनाको कार्यसम्पादन सन्तोषजनक रहेको छ । तर, गत आवमा १० किमि सडक कालोपत्रे गर्ने भनिए पनि प्रगति शून्य छ । यसअन्तर्गत वरुणदेखि च्याम्ताङसम्मको ५४ किमि सडक स्तरोन्नति र हटियामाथिका केही पुलहरूको अध्ययन र ठेक्का सम्झौता गर्न बाँकी नै छ । 

कालीगण्डकी करिडोर (गैँडाकोट–मालढुंगा)
०६६/६७ बाट सुरु गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ४५  प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत पुगेको छ । यसमा २५ अर्ब २२ करोड लगानी लाग्ने अनुमान छ । यस आयोजनाको म्याद ०८३/८४ सम्म थप गर्ने प्रस्ताव गरिएको छ । गत आवमा यसअन्तर्गतको १४ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर, सातवटा मात्रै पुल तयार भएका छन् । यस आयोजनामा ५७ वटा पुल बन्नेछन्, त्यसमा हालसम्म ३० वटा मात्रै निर्माण भएका छन् । गत आवमा ७५ किमि सडक कालोपत्रे गर्ने भनिए पनि ६८ किमि सडक कालोपत्रे भएको छ । दुई सय ४५ किमि लामो यस सडकमा हालसम्म एक सय ७७ किमि खण्ड कालोपत्रे भएको छ । यसअन्तर्गत १८ किमि सडकको कालोपत्रे र १५ वटा पुल निर्माणका लागि ठेक्का लाग्न भने बाँकी छ । 

कालीगण्डकी करिडोर (बेनी–कोरोला) 
यस आयोजनाको निर्माण ०७३/७४ बाट सुरु गरिएको थियो । हालसम्मको यसको भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । १० अर्ब ५७ करोड लगानी अनुमान गरिएको आयोजना आव ०८१/८२ मा सम्पन्न गर्नुपर्ने म्याद छ । गत आवमा यसअन्तर्गतका चारवटा पुल बनाउने भनिएको थियो । तर, एउटा मात्रै निर्माण भयो । यसअन्तर्गत ३२ वटा पुल बनाउनुपर्नेछ, त्यसमा हालसम्म १० वटा मात्रै पुल तयार भएका छन् । 

गत आवमा १४ किमि सडक ग्राभेल गर्ने भनिएकामा १२ किमि मात्रै भएको छ । दुई सय दुई किमि लामो यस सडकमा हालसम्म दुई सय किमि ग्राभेल भएको छ । साथै, ३३ किमि सडक कालोपत्रे भएको छ । गत आवमा ८.२ किमि सडक कालोपत्रे गर्ने भनिएको थियो । तर, त्यसमा सात किमि सडक कालोपत्रे भएको छ । यसअन्तर्गत अझै एक सय दुई किमि सडक कालोपत्रे गर्न र दुईवटा पुल निर्माणको ठेक्का लाग्न बाँकी छ । 

कर्णाली करिडोर (हिल्सा–सिमिकोट) 
दुई सय ६९ किलोमिटर लम्बाइ रहेको आयोजनाको निर्माण ०६९/७० मा सुरु गरिएको थियो । हालसम्म यसको प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २०.२१ प्रतिशत पुगेको छ । कुल ६ अर्ब ६६ करोड लगानी अनुमान गरिएको आयोजना ०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत आवमा यसमा तीनवटा पुल बनाउने लक्ष्य राखिएको थियो । तर, प्रगति शून्य देखिएको छ । यसअन्तर्गत १४ वटा पुल आवश्यक छ । गत आवमा ४.५ किमि ट्र्याक खुल्ने लक्ष्य राखिएको थियो, तर २.५ किमि मात्रै सडक खोलिएको छ । दुई सय ६९ लामो यस सडकमा अब दुई किमि मात्रै ट्र्याक खोल्न बाँकी छ ।

सुझावित समाचार