सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद्को गतिरोधमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्। आइतबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सञ्चालन गराउनुपर्ने कोइरालाको भनाइ छ। उनले तत्काल संसद् सञ्चालन गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।
‘संसद् चलाउनुपर्याे । प्रतिपक्ष यो दुनियाँको नियम हो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने अनि सत्तापक्षले पनि भन्ने– प्रतिपक्षले गर्न दिएन, चल्न दिएन भन्ने,’ उनले भने, ‘तर, म के भन्दै छु भने– हामी दुइटै दोषी हौँ। यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो। यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन।’