पोखराको चरक मेमोरियल हस्पिटलले गण्डकी प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयबाट एक महिनाअघि अनुमति पाएको हस्पिटलले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षीय एक पुरुषको सफलतापूर्वक सर्जरी गरेको हो ।
मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा, चरकका डा. कृष्ण बस्याल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. एसके जैसवाललगायतको टिमले करिब साढे चार घन्टा लगाएर ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसअघि यो सेवा काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, चितवन, विराटनगर र धरानमा मात्र सञ्चालन हँुदै आएको थियो । चरकमा यो सेवा सुरु भएसँगै गण्डकीका ११ जिल्ला र आसपासका अन्य जिल्लाका बिरामी लाभान्वित हुने भएका छन् ।
मुटुको दुईवटा नशाले काम नगरेका बिरामीको सर्जरी ठूलोमध्येको एक रहेको डा. भट्टराईले बताए । छाती चिरेर गरेको सर्जरीमा ती बिरामीको काम नगरेको दुई नशामध्ये एउटामा हातको र एउटामा छातीको नशा लगेर जोडिएको उनले जानकारी दिए । गत शुक्रबार सर्जरी गरिएका बिरामीको अवस्था हाल सामान्य रहेको र उनी आफैँ हिँडडुलसँगै खाना खान सक्ने भएको उनले बताए ।
पोखरामै सर्जरी गर्न चाहने बिरामीका लागि आफूलगायतको टिम पोखरा आएर गर्ने र बिस्तारै आवश्यक जनशक्ति तयार गर्ने गरी सहयोग गर्ने र यसका लागि आवश्यक काम सुरु भएको उनको भनाइ छ । मुुटुको भल्व फेर्ने, भल्भ मर्मत गर्ने, प्वाल टाल्ने, मेसिन राख्ने, वाइपासलगायतका विभिन्न प्रकारका सर्जरी हुने गरेको उनले बताए । सर्जरीको प्रकार हेरेर नेपालमा दुईदेखि बढीमा ६ लाखमा हुने काम भारतमा जाँदा १६ लाखको हाराहारीमा खर्च हुने गरेको डा. भट्टराईको भनाइ छ ।
मुटुको सर्जरी सेवाका लागि आवश्यक उपकरण खरिद गरी चरक अस्पतालले सर्जरी कक्ष तयार गरेको छ । यसका लागि तीन करोडभन्दा बढी खर्च गरेको चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । सेवा सुरुसँगै सर्जरीका लागि बिरामीलाई सरकारले दिने एक लाख रुपैयाँको सहायता चरकबाट समेत पाइने उनले बताए ।