प्रेरक प्रसंग : सपना पूरा गर्ने हुटहुटी

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

भारतको गुजरात सहरको जामनगरमा सन् १९७४ मा एक बालकको जन्म भयो । जसको नाम रमेश गोपी नायर राखियो । गोपी सानैदेखि नृत्यप्रति आकर्षित थिए । उनी माइकल ज्याक्सनको नृत्यलाई खुब मन पराउँथे । टेलिभिजन र युटुब हेरेर नृत्य सिक्थे । स्कुलमा नाच्ने अवसर पाए जहिल्यै अगाडि हुन्थे । पढाइलेखाइमा भने उनको खासै मन लाग्दैनथ्यो ।

स्कुलको पढाइ सकिएपछि कलेजमा पनि गोपीको अवस्था उस्तै थियो । नृत्यमा चासो बढ्दै गएको थियो, पठनपाठनमा चाहिँ खासै रुचि थिएन । यसैबीच उनले मुम्बईमा कुनै सिनेमाका लागि ब्याकग्राउन्ड डान्सर चाहिएको सूचना पाए । उनलाई पनि मुम्बई गएर आफ्नो भाग्य परीक्षण गर्ने हुटहुटी जाग्यो । तर, उनले बुबाआमाबाट त्यसका लागि अनुमति पाएनन् । 

उनले बल्लतल्ल आमालाई मनाए । उनलाई केही साथीले आर्थिक सहयोग गरे । उनी मुम्बई पुगे । सपनाको नगरी मुम्बई पुगेपछि गोपी ब्याकग्राउन्ड डान्सर माग गर्ने कार्यालय पुगे । त्यहाँ उनलाई एउटा फारम भर्न लगाइयो र त्यसबापत केही पैसासमेत बुझाउन लगाइयो । उनलाई सात दिनपछि सम्पर्क गर्न भनिएको थियो । तर, सात दिनपछि जाँदा त्यो कार्यालय बन्द भइसकेको थियो । त्यतिन्जेल उनीसित भएको पैसा पनि सकिइसकेको थियो । अब उनका लागि निराश भएर घर फर्किनुको विकल्प थिएन । तर, गोपी घर फर्किन तयार भएनन् । 

उनी मुम्बईका फुटपाथ र रेल्वे स्टेसनमा सुते, रुखासुखा खाए । केही समयपछि उनी घरघर गई बालबालिकालाई नृत्य सिकाउन थाले । यसबाट उनको मुम्बई बसाइ केही हदसम्म सहज हुँदै गयो । केही समयपछि उनले आफूजस्तै नृत्यमा चासो हुने युवाको समूह बनाएर नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरे । उनीहरूको समूहले अल इन्डिया डान्स नामको प्रतियोगिता जित्यो । 

त्यस सफलतापछि बिस्तारै उनी ब्याक ग्राउन्ड डान्सर हुँदै कोरियोग्राफर बने । उनी सपना देखेर त्यसलाई पछ्याउने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरण बने । उनी हुन्, भारतकै अहिलेको समयका चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा । 

सुझावित समाचार