हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ। बेँसीसहर चामे सडक खण्डको ताल डाँडामा पहिरो खस्दा शनिबार बिहान ६ बजेबाट सडक अवरुद्ध भएको हो।
पहिरो सफा गर्न मेसिन परिचालन भएको र केही समयपछि बाटो सुचारु हुने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ। पहिरोले मनाङ खण्ड अवरुद्ध भएको हो।
बेँसीसहर-चामे सडकखण्डमा पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि यो सडक बन्द हुँदा समस्यामा पर्ने गरेका छन्।