अभ्यासका क्रममा रेफ्री चौधरीको मृत्यु

शनिबार, २ भदौ, २०८०
डिजिटल संस्करण

नेपाली सेनाको मुख्यालय भद्रकाली मैदानमा अभ्यासका क्रममा लडेका फिफा सहायक रेफ्री विक्रम चौधरीको मृत्यु भएको छ । नेपाली सेनाका हवल्दारसमेत रहेका चौधरी शुक्रबार बिहान भद्रकाली मैदानमा अभ्यासका क्रममा मैदानमै ढलेका थिए । मैदानभित्र प्राथमिक उपचारपछि उनलाई छाउनी अस्पताल पुर्याइएको थियो । ३६ वर्षीय चौधरीलाई केही समयपछि मृत घोषणा गरिएको थियो । बिहान पौने ९ बजे मैदान पुगेर सेन्थेटिक ट्र्याकमा दौडिएका उनले बीचमै ‘ल्याप’ छाडेका थिए । 

अर्को महिना उनी फिफा रेफ्री ब्याच नवीकरणको तयारीमा थिए । चौधरीसँगै आर्मीका दुई सहायक रेफ्री प्रवीण गौतम र गणेश चौधरी पनि सँगै दौडिए । ‘सुरुमा सामान्य अवस्थाजस्तै लाग्यो, आठौँ ल्यापपछि उहाँले दौडिन सक्दिनँ भन्नुभयो,’ चौधरीसँगै दौडिएका गौतमले भने, ‘मैले आफ्नो तयारी गरिरहेको थिएँ, उहाँ मैदानमै ढलेपछि अभ्यास छाडेर पुग्दा बेहोसी अवस्थामा पाएँ ।’

मैदानमा ढलेका चौधरीलाई तत्कालै प्राथमिक उपचार गराउन मेडिकल टिमलाई बोलाउँदै सिपिआर दिइएको थियो । ढलेको १५ मिनेटभित्रै उनलाई छाउनी अस्पताल पुर्याइयो । ‘बेहोस भएपछि मैदानमा सिपिआर दियौँ, हामीले लगत्तै अस्पताल पुर्यायौँ, तर चिकित्सकहरूले मृत घोषणा गर्नुभयो,’ गौतमले भने । ब्यारेकबाट तीन रेफ्रीहरू अभ्यासका लागि बिहान सवा आठ बजे भद्रकाली मैदानमा पुगेका थिए । सामान्य अवस्था रहँदा तीनै रेफ्रीले नियमित अभ्यास सुरु गरेका हुन् । गणेशले चौथो ल्यापमै दौड छाडेका थिए । आठौँ ल्यापमा विक्रमले पनि आफू नसक्ने भन्दै दौड छाडेका हुन् । मैदानमा चौधरी लडेको देखेपछि गौतमले पनि अभ्यास छाडेका थिए । 

दुई वर्षदेखि फिफा रेफ्री 
निरन्तर एक दशकदेखि चौधरी अफिसियल रूपमै कार्यरत रहे । दुई वर्षअगाडि उनी फिफा सहायक रेफ्री नियुक्त भएका थिए । विक्रम र किसन कन्हैया यादवले एकैपटक फिफा सहायक रेफ्री ब्याज पाएका हुन् । सर्लाहीका स्थानीय बासिन्दा विक्रम सन् २००७ यता एन्फा रेफ्री, राष्ट्रिय रेफ्री हुँदै ०७८ मा फिफा रेफ्री भएका थिए । 

See More On

सुझावित समाचार