काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ७ लास्टकोटका जनार्जन गौतमले फूलखेती गरेको १० वर्ष भयो । तर, यस वर्ष मात्र उनले लगाएको फूलले भाउ पायो । फूलको प्रतिमाला १० देखि १५ रुपैयाँ पाउँदै आएकोमा यस वर्ष उनले ४५ देखि ६० रुपैयाँ पाएका हुन् । उनी भन्छन्, ‘मैले फूलखेती गरेको १० वर्ष भयो, यसपालिचाहिँ अहिलेसम्मकै राम्रो भाउ पाएँ ।’ गौतमले चार रोपनी जग्गामा फूलखेती गर्दै आएका छन् । चार रोपनी जग्गामा दुई रोपनी आफ्नै हो भने दुई रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका हुन् । उनले दुई रोपनी जग्गाको वार्षिक २५ हजार भाडा तिर्छन् । फूलखेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।
गौतमको परिवारमा ६ जना छन् । तर, गौतमदम्पती मात्र फूल र तरकारी खेतीमा व्यस्त हुन्छन् । ‘हाम्रो ६ जनाको परिवार छ । सबै आ–आफ्नो काममा लाग्छन् । हामी दम्पतीचाहिँ फूलखेतीमा लाग्छौँ ।’ उनले भने, ‘परेको वेलामा परिवार सबै मिलेर गर्छौं र सकिएन भने खेताला पनि लगाउँछौँ ।’ गौतम परिवारले तीनवटा टनेलमा सयपत्री फूल लगाएका छन् । सयपत्री फूल स्थानीयलाई पनि बेच्छन् । यसका साथै भकुन्डे, बनेपा र काठमाडौंसम्म लगेर बेच्छन् । बजारको समस्या नभएको गौतम बताउँछन् । पुष्प व्यवसायी संघ काभ्रेका सदस्यसमेत रहेका गौतमले फूलखेतीबाटै वार्षिक दुई लाख रुपैयाँभन्दा बढी भित्र्याउँछन् । ‘फूलखेती गरेदेखि अहिलेसम्म घाटा व्यहोर्नुपरेको छैन ।’ उनले भने, ‘वार्षिक कम्तीमा दुई लाख आम्दानी हुन्छ । त्यो भनेको सबै खर्च कटाएर हो ।’ भारतीय फूल रोकेमा नेपाली फूलले भाउ पाउने उनको अनुभव छ । भारतीय फूल रोके पनि नेपाली फूलले बजार धान्ने उनको भनाइ छ । भारतीय फूल सधैँका लागि रोक्नुपर्ने उनले बताए ।
स्थानीय सरकारले विभिन्न खेतीबारे तालिमको व्यवस्था गरे सही तरिकाले खेती गर्न सक्ने उनको भनाइ छ । ‘स्थानीय सरकारले हामीजस्ता किसानलाई कुन खेती कसरी गर्ने भन्ने ज्ञान दिए हुन्थ्यो,’ गौतमले भने, ‘रोशी गाउँपालिकासँग यही आशा छ ।’ भारतीय फूल आयातमा रोक लगाएपछि नेपाली फूलले मूल्य पाएको पुष्प व्यवसायी संघ काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले बताए । तीन वर्षअगाडिदेखि फूल आयातमा रोक लगाए पनि भन्सारका कर्मचारीले अतिरिक्त लाभ लिएर फूल आयात खुकुलो पारेको दनुवारले आरोप लगाए । ‘भन्सारमा फूल आयातमा रोक लगाएका छौँ । तर, भन्सारका कर्मचारीले अतिरिक्त लाभ लिएर तरकारी भनेर पठाउने गरेको सुनेको छु,’ उपाध्यक्ष दनुवारले भने, ‘यदि त्यस्तो हो भने पनि तुरुन्तै रोक्नुपर्छ ।’