‘बैंकहरू साहुजीजस्ता भए, सरकारले उद्योगीलाई मिटरब्याजीको व्यवहार गर्यो’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले उद्योगी व्यवसायीका समस्या नसुनेको आरोप लगाएका छन् । उद्योग व्यवसाय क्षेत्र समस्यामा हुँदासमेत सरकारले मतलब नगरेको उनको आरोप छ ।
एमालेको अर्थ विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार उद्योगी व्यसायीको सहयोगी बन्न नसकेको बताएका हुन् । ‘उद्यमी व्यसवायी फस्टाएको वेला सरकारको सहयोग आवश्यक पर्दैन, जब उद्योग–व्यवसाय संकटमा हुन्छन् त्यतिवेला सरकार चाहिने हो,’ उनले भने, ‘अहिलेको सरकार असहयोगी छ । उद्योगहरू बन्द हुँदै छन्, समस्यामा छन् तर सरकारलाई मतलब नै छैन ।’ अहिलेको वेलामा सरकारले कर, ब्याज तथा नीतिगत सहजता दिनुपर्ने उनले बताए । ‘यस्तो वेलामा सरकारले सहायता दिने हो, कर पछि तिर्नु भनिदिने हो, ब्याजदर घटाइदिने हो,’ उनले भने, ‘तर, समयानकूल निजी क्षेत्रलाई अघि बढ्न अनुकूलता प्रदान गरिएको छैन ।’
उनले बैंकहरू साहुजीजस्ता भएकोसमेत आरोप लगाए । ‘बैंक र उद्योगी व्यवसायीको सम्बन्ध साहु र ऋणीको जस्तो हुनुहुँदैन,’ उनले भने, ‘उद्योग व्यसायको सहयोगी हुनुपर्छ ।’ बैंकले समस्यामा परेका उद्योगी व्यवसायीलाई थप ऋण दिएर तथा ऋण तिर्ने म्याद थपिदिएर सहजीकरण गर्नुपर्ने उनले बताए ।
उद्योगी–व्यवसायीलाई राजनीतिक पूर्वाग्रह नराख्न आग्रह
उद्योगी व्यवसायीले राजनीतिक आग्रह राख्न नहुनेसमेत बताए । राजनीतिक संलग्नता वा वादलाई मानेर उद्योग व्यवसाय क्षेत्रको वास्तविकतालाई ढाकछोप गर्न नहुने उनले बताए । उद्योगी व्यवसायीले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको बजेटलाई सकारात्मक, विकासोन्मुख भन्दा आफूहरू आश्चर्यचकित भएको उनले बताए । ‘अप्ठ्यारो परेको छ भने भनौँ, समस्या छ भने समस्या छ भनौँ,’ उनले भने, ‘तर, राजनीतिक आइडिओलोजी, राजनीतिक संलग्नताको भरमा, मेरो उद्योग ठीक छ नभनौँ, अर्थतन्त्र आग्रहको कुरा होइन ।’
अर्थतन्त्र सबल बनाऔँ
उक्त अवसरमा अध्यक्ष ओलीले अर्थतन्त्रलाई सबल नबनाए पछि परिने बताए । उनले उत्पादन र उत्पाकत्व बढाउनुपर्नेमा जोड दिए । देशलाई औद्योगीकरण एवं आाधुनिकीकरण गर्न, व्यसाय वृद्धि गर्न, नयाँ उद्योग ल्याउन, रोजगारी र उत्पादन बढाउन, बन्द भएका उद्योग चलाउन तथा संकटमा भएका उद्योगको समस्या समाधान गर्न नसके देश अघि बढ्न नसक्ने उनले बताए । वर्तमान सरकारले त्यतापट्टि ध्यान नदिएको उनको भनाइ छ । ‘आधुनिकीकरण, विज्ञान प्रविधिको प्रयोगविना अघि बढ्न सक्दैनौँ,’ उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना, व्यापार असन्तुलन घटाउन, उत्पादकत्व बढाउनेलगायत काम गर्न नसके देश पछि पर्दै जान्छ ।’ नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालको आकांक्षा लिएर अघि बढेको भन्दै उनले यसका लागि देशको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रलाई सुदृढ र सबल बनाउनुपर्ने बताए ।
कर तिर्ने सहज व्यवस्था होस् : खतिवडा
उक्त अवसरमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सहज तरिकाले कर तिर्ने व्यवस्था बनाउनुपर्ने बताए । कर तिर्न जटिल भएकै कारण अनौपचारिक अर्थतन्त्र मौलाउन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले कर प्रशासन ठीक ठाउँमा राख्नुपर्छ, ६–६ महिनामै करका हाकिम किन फेरिन्छ ?’ उनले भने, ‘यस्ता जटिलता कारण कालो अर्थतन्त्र नमौलाओस् ।’ डा. खतिवडाले महँगी बढ्दा समस्या जटिल बनेको बताए । अहिले इन्धको मूल्य बढेको, ढुवानी भाडा बढेको र समग्र मूल्यवृद्धिले सर्वसाधारणका साथै उद्योग व्यवसाय क्षेत्र समस्यामा परेको उनले बताए । ‘इन्धनदेखि ढुवानी भाडा बढेको छ, ऊर्जाको समस्या छ,’ उनले भने, ‘सरकारले उद्योगलाई डेडिकेटेड विद्युत्को व्यवस्था गर्नुपर्छ ।’ उनले जग्गाको कित्ताकाट खोलेर आर्थिक मन्दीबाट बाहिर निस्कन नसकिनेसमेत बताए ।
निजी क्षेत्रको मनोबल घटाउने काम भयो : दुगड
कार्यक्रममा एमालेका नेता एवं उद्योगी मोतीलाल दुगडले अहिले निजी क्षेत्रको मनोबल घटाउने काम भएको बताए । उनले वर्तमान सरकारले निजी क्षेत्रलाई सिध्याउने एवं मनोबल गिराउने काम मात्र गरेको आरोप लगाए । ‘अहिले उद्योगी व्यवसायीलाई टर्चर दिने र उद्योग मास्ने काम भइरहेको छ । तर, हामी आफ्ना समस्याका बारेमा कुरा राख्नै नसक्ने अवस्थामा छौँ,’ उनले भने, ‘अब अति भइसकेको छ, धेरै क्षति भइसकेको छ, अब आजैबाट रणनीति बनाएर अघि बढौँ ।’ अहिले ‘समृद्ध नेपाल सुखी नेपाली नभई समृद्ध बालुवाटार, दुःखी नेपाली’ भएको उनले बताए ।
कार्यक्रममा नेपाल परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत उद्योगी व्यवसायीको उपस्थिति थियो ।