लगातार ६ खेलमा मेसीको गोल

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर सकर लिग क्लब इन्टर मियामीका लागि लगातार ६ खेलमा गोल गरेका छन् । यसै सिजन इन्टर मियामीमा अनुबन्धित भएका मेसीले ६ खेलमा आफ्नो गोल संख्या नौ पुर्याएका छन् ।

सेमिफाइनलमा घरेलु टोली फिलाडेल्फिया युनियनलाई ४–१ ले हराउँदा मेसीले मियामीका लागि एक गोल गरेका थिए । अमेरिकी क्लब इन्टर मियामी पहिलोपटक कुनै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मियामीले उपाधिका लागि नासभिलसँग २० अगस्टमा खेल्नेछ । 

पेन्सिलभेनियाको चेस्टरस्थित सुबारु पार्कमा मियामीलाई जिताउन जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेबिड रुइजले समान एक गोल गरेका थिए । घरेलु टोलीका लागि एलेजान्द्रो बेडोयाले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै क्रिभटसोभको पासमा मार्टिनेजले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै मियामीलाई १–० को अग्रता दिलाए । खेलको २०औँ मिनेटमा मियामी २–० ले अघि बढ्यो । मार्टिनेजले मध्यभागमा मिलाएको बललाई अगाडि बढाउँदै मेसीले २५ यार्डबाट उत्कृष्ट गोल गरे । 

सुझावित समाचार