लामो समयदेखि अवरोध भइरहेको सदन खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । राष्ट्रपति पौडेलले संसद् अवरोध खुलाउन दलहरूबीच सहमति गरेर अघि बढ्न प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएको पाँच महिनापछि बुधबार पहिलोपटक विपक्षी दलका नेता ओलीलाई बोलाएर राष्ट्रपति पौडेलले राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित छलफल गरेका छन् । ३ भदौका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चल्ने–नचल्ने अनिश्चित भइरहेका वेला राष्ट्रपतिले सक्रियता बढाएका हुन् ।
राष्ट्रपति पौडेलले संसद्को अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । लामो समयसम्म संसद् नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए ।
दलहरूबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ । ‘लामो समयसम्म संसद् अवरुद्ध हुँदा जनताको मुद्दाले ठाउँ पाउँदैन, त्यसले जनतामा नैराश्यता बढाएर नकारात्मक प्रभाव पार्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरू मिलेर सदन खुलाउन एउटा सहमतिमा पुग्नुस् र सकारात्मक सन्देश दिनुस् ।’
जवाफमा ओलीले प्रधानमन्त्री जिम्मेवार नबनेकै कारण सहमतिमा पुग्न नसकिएको धारणा राखेका थिए । नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर तेस्रो मुलुकमा सुन तस्करी हुने कुरा अन्तर्राष्ट्रिय ध्यानाकर्षणको विषय मात्र नभएर मुलुकको राष्ट्रिय हित र सुरक्षामाथि आँच पुग्ने विषय भएको ओलीको भनाइ थियो । यसलाई जरैदेखि निर्मूल गर्न र गहिरो छानबिनसहित दोषीमाथि कारबाही गर्न एमालेले उच्चस्तरीय छानबिन समितिको कुरा उठाएको ओलीले राष्ट्रपतिलाई सुनाएका थिए ।
सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानबिन समिति माग राख्दै संसद् अवरोध गर्दै आएको छ । तर, सत्तारूढ गठबन्धनले भने एमालेको माग स्वीकार गर्न नसकिने अडान सार्वजनिक गरेको छ । दुवै पक्षले प्रतिष्ठाको विषय बनाउँदा ३ भदौका लागि बोलाइएको संसद् पनि खुल्ने–नखुल्ने अझै टुंगो छैन ।
यसअघि राष्ट्रपति पौडेलले संसद्को अवरोधलगायत समसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारूढ दलका प्रमुख नेताहरूसँग सामूहिक छलफल गरेका थिए । राष्ट्रपतिको बोलावटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । यसैगरी, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर संसद्को अवरोध हटाउने विषयमा छलफल गरिसकेका छन् ।
संसद्को गतिरोध हटाउन एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय
सत्तागठबन्धनले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्ष दल एमालेसँग संवाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरूबीच संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।
कांग्रेसले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएपछि एमाले एक्लिएको छ । एमाले अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्तिबारे बैठकमा छलफल भएको र शीर्ष नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिएको सहभागी एक नेताले बताए । ओलीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूले चासो राखेका थिए । ओलीले मंगलबार एक कार्यक्रममा आफ्नो राजनीतिक रक्षाका लागि ५ पुस ०७७ मा संसद् विघटन गरेको अभिव्यक्ति दिएका थिए ।