प्रेरक प्रसंग : ठट्टाको जवाफ

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

बिहेको केही वर्षपछि पत्नीको मनमा एउटा अनौठो विचार आयो । यदि म मेरा पतिलाई छाडेर गएँ भने उहाँले कस्तो महसुस गर्नुहोला । कति दुःखी हुनुहोला । यसको परीक्षण त गर्नैपर्यो । यस्तो सोचले उनले एउटा कागजमा लेखिन्– म अब तिमीसँग बस्न सक्दिनँ । म अघाएँ । भयो, पुग्यो । म यो सम्बन्धलाई थप अघि बढाउन सक्दिनँ । म सधैँका लागि घर छाडेर हिँडेँ । 

यति लेखेर कागजलाई टेबलमा राखिन् र उनी पतिको प्रतिक्रिया हेर्नका लागि खाटमुनि गएर लुकिन् । केहीबेरमै पति कार्यालयबाट आइपुगे । कोठाभित्र पस्नासाथ उनले टेबलमाथि राखिएको कागज देखे । उठाएर मनमनै पढे । पढिसकेपछि त्यसैमा थप केही लेखे । जहाँ, जसरी थियो, त्यसैगरी राखिदिए । अनि, खुब खुसी हुँदै सुसेल्दै गीत गुनगुनाउन थाले । 

खुसी हुँदै कपडा फेरे र कसैलाई फोन गरे । फोनमा भने– आज म मुक्त भएँ । सायद मेरी मूर्ख पत्नीले आज थाहा पाइछ कि ऊ मेरा लागि लायक नै थिइन । त्यसैले, ऊ सधैँका लागि घर छाडेर गई । अब म पूरापूर स्वतन्त्र भएको छु । म अहिल्यै तिमीसित भेट गर्न आउँदै छु । तिमी तयार भइरहनू । म तिमीलाई लिन आउँछु । दुवैजना क्यान्डल लाइट डिनरमा जानुपर्छ । 

फोन राखेर पति खुसीखुसी बाहिर निस्किए । पति बाहिर निस्किएपछि आँखाभरि आँसु लिएर पत्नी खाटमुनिबाट बाहिर निस्किइन् । काँप्दै गरेको हातले कागज उठाइन् र पढ्न थालिन् । पतिले लेखेका थिए– खाटमुनिबाट तिम्रो खुट्टा देखिइरहेको छ, मूर्ख ! म पसल गएर खाजा लिएर आउँछु । त्यतिखेरसम्म तिमी चिया बनाइराख ल !

सुझावित समाचार