भारतको हिमाञ्चल प्रदेशमा विपतजन्य घटनामा २१ को मृत्यु, कैयौँ बेपत्ता

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

भारतको हिमाञ्चल प्रदेशमा लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी २१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टायता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ ले ज्यान गुमाएका हुन्। बाढी र पहिरोमा कैयौँ बेपत्ता भएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दरसिंह सुखुले जानकारी दिए।

स्थानीय अधिकारीहरूका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ।

साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ। त्यस्तै, सिमलाको फागलीमा पहिरोमा परी अन्य चारजनाले ज्यान गुमाएका छन्। त्यस्तै सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोमा घर पुरिँदा दुईजनाको मृत्यु भएको छ।

मण्डीकै बम्बोला गाउँमा घर भत्किँदा दुईजनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश मनसुन सुरु भएयता बढी प्रभावित बनेको छ। खराब मौसमका कारण सोमबार हिमाञ्चल प्रदेशका सबै शैक्षिक संस्था बन्द गरिएको थियो।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।

सुझावित समाचार