पहिलोपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको स्पेनले अनुभवी स्विडेनसँग मंगलबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छ । अहिलेसम्म स्विडेन एकपटक उपविजेता र तीनपटक तेस्रो स्थान बनाएको युरोपियन राष्ट्र हो । स्पेनले सन् २०१५ मा डेब्यु गरेको थियो । गत संस्करण प्रिक्वार्टरफाइनलसम्म पुग्नु नै स्पेनको उत्कृष्ट प्रदर्शन थियो । चार वर्षको अन्तरमा स्पेनले महिला टोलीसमेत बलियो बनाउँदै विश्वकपमा दाबेदारी दिँदै छ ।
सन् २००३ मा जर्मनीसँग २–१ ले पराजित हुँदा स्विडेन उपविजेतामा सीमित भएको थियो । २० वर्षपछि फाइनल खेल्ने अवसर पाएको स्विडेन यसपटक निकै बलियो छ । यसक्रममा प्रिक्वार्टरफाइनलमा स्विडेनले सर्वाधिक विजेता अमेरिकालाई टाइब्रेकरमा स्तब्ध पा¥यो । क्वार्टरफाइनलमा सन् २०११ को विजेता जापानमाथि २–१ को जित निकाली स्विडेनले अन्तिम चारको स्थान पक्का पारेको थियो ।
सुधारिएको प्रदर्शन गरिरहेको स्पेनले क्वार्टरफाइनलमा प्रतियोगिताकै साबिक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले हराएको थियो । स्पेनले प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ५–१ ले हराउँदै पहिलोपटक अन्तिम आठमा प्रवेश गरेको थियो । लगातार प्रतिस्पर्धात्मक खेलमा जित निकालेको स्विडेनका खेलाडी थकित छन् । प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमा निकै मिहिनेत गरेका कारण स्विडेनका खेलाडी थकित भएका हुन् ।
यही समस्या स्पेनका खेलाडीसँग पनि छ । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध एक सय २० मिनेट खेलेपछि स्पेनका खेलाडी थकित भएको एजेन्सीले जनाएका छन् । स्पेनिस टोलीका अधिकांश खेलाडीमा मांसपेशीको समस्या देखिएको छ । रक्षक लाइया कोडिना घाइते र आइहाने हर्नान्डेज निलम्बनमा परेकी छिन् । नेदरल्यान्ड्सविरुद्ध निर्णायक गोल गरेकी १९ वर्षीया साल्मा पारालुइलोले स्पेनिस टोलीको पहिलो रोजाइमा स्थान बनाउन सक्छिन् । प्रशिक्षक जर्ज भिल्डा स्विडेनविरुद्धको खेलमा घाइते र थकानमा रहेका खेलाडीबाट केही समस्या नआउने बताएका छन् ।
एकरूपता प्रदर्शन
मैदानबाहिर खेलाडी र स्पेनिस प्रशिक्षकबीच सम्बन्ध त्यति राम्रो छैन । खेलाडीको छनोटमा राम्रो व्यवहार नगरेको जनाउँदै उनीविरुद्ध उजुरी परेको थियो । खेलाडीले लिखित रूपमा उनको राजीनामा माग राखेका थिए । यद्यपि, मैदानभित्र खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध राम्रो छ । एक–आपसबीचको दूरी मैदानमा देखिएको छैन । ‘वातावरण र खेलाडीसँग केही समस्या छैन,’ स्पेनिस प्रशिक्षक भाल्डोले भने, ‘हामी स्विडेनसँग सकारात्मक ऊर्जाका साथ प्रतिस्पर्धा गर्छौं ।’ स्विडेनको अहिलेसम्म बलियो पक्ष नै रक्षापंक्ति हो ।
बलियो रक्षापंक्ति
स्विडेनले दोस्रोपटक फाइनल स्थान बनाउनमा रक्षापंक्तिमाथि नै विश्वास राखेको छ । स्पेनको बल पोसेसन बलियो छ । स्विडेनको काउन्टर एट्याक्ट सर्वाधिक बलियो मानिएको छ । नियमित कप्तान कोसोभारे अल्लानीले पुनरागमन गर्ने विश्वास स्विडिस टोलीमा छ । इटालीविरुद्ध घाइते भएपछि उनी मैदानबाहिर छिन् । चेल्सीबाट खेल्दै आएकी गोलरक्षक जेसिरा मुसोभिमको प्रदर्शनले स्विडेन झनै सशक्त देखिन्छ । २७ वर्षीया मुसोभिम अमेरिका र जापानविरुद्ध संकटमोचक बनेकी थिइन् ।
स्विडेनको सेमिफाइनल यात्रा
समूह ‘जी’
२–१ दक्षिण अफ्रिका
५–० इटाली
२–० अर्जेन्टिना
प्रिक्वार्टरफाइनल
०–० (५–४ टाइब्रेकर) अमेरिका
क्वार्टरफाइनल
२–१ जापान
स्पेनको सेमिफाइनल यात्रा
समूह ‘सी’
३–० कोस्टारिका
५–० जाम्बिया
०–४ जापान
प्रिक्वार्टरफाइनल
५–१ स्विट्जरल्यान्ड
क्वार्टरफाइनल
२–१ नेदरल्यान्ड्स
प्लेयर टु वाच जेनिफर
हेरमोसो, स्पेन
स्पेनको सेमिफाइनल यात्रामा जेनिफर हेरमोसोको उत्कृष्ट प्रदर्शन रहेको छ । उनले टोलीको जितमा ठूलै योगदान दिएकी छिन् । मिडफिल्डर खेलाडीले अधिकांश गोलमा आफ्नो पोसेसनलाई न्याय दिएकी छिन् । अट्याकर जेनिफर बक्सबाहिरबाट लामा प्रहार गर्दै विपक्षीलाई कडा चुनौती दिन सक्षम छिन् । नेदरल्यान्ड्सविरुद्ध उनले एक सय २० मिनेट खेल्दै एक असिस्ट दिएकी थिइन् । उनले विश्वकपमा पाँच खेलमा तीन गोल र दुई असिस्ट गरेकी छिन् ।
माग्दालिना एरिक्सन, स्विडेन
अनुभवी रक्षक माग्दालिना एरिक्सनले स्विडेनको रक्षापंक्तिको नेतृत्व गर्नेछिन् । उनकै उत्कृष्ट प्रदर्शनमा स्विडेनले रक्षापंक्तिमा निकै विश्वास गरेको छ । स्पेनको बल पकड बनाउने र गोल गर्ने योजनामा बायर्न म्युनिखकी रक्षक बाधक बन्न सक्छिन् । २९ वर्षीया खेलाडी इंग्लिस क्लब चेल्सीमा ६ वर्षको लामो यात्रा टुंग्याउँदै यसै वर्ष जर्मन क्लब बायर्न पुगेकी हुन् । विश्वकपमा पाँच खेल खेलेकी एरिक्सनले पाँच खेल नै पूरा समय बिताइन् ।