अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेर सामान्य गतिमा वृद्धि हुन थालेको छ । पछिल्लो १५ दिनमा कच्चा तेलको भाउमा १.४२ डलर प्रतिब्यारेल वृद्धि भएको हो ।आयल निगमले गत ३१ असारदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेका कारण अन्तर्राष्ट्रिय बजारभाउले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक १५ दिन (१ र १६ तारिख)मा आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ । नयाँ मूल्य प्राप्त हुनासाथ निगमले नेपाली बजारमा सोहीअनुसार समायोजन गर्न थालेको छ । जसकारण कच्चा पेट्रोलियमको अन्तर्राष्ट्रिय भाउबारे चासो बढ्ने गरेको छ ।
गत १ अगस्ट (१६ साउन)मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८४.९८ डलर प्रतिब्यारेल थियो । १४ अगस्ट (२९ साउन)मा सामान्य वृद्धि भएर ८६.४० डलर प्रतिब्यारेलमा कारोबार भएको छ । आइओसीले अन्तर्राष्ट्रिय बजारको दरभाउअनुसार आयल निगमलाई भोलि ३१ असारमा नयाँ मूल्य पठाउँदा केही बढेर आउने अनुमान गरिएको छ ।तेल उत्पादक तथा निर्यातकर्ता देशहरूको संगठन (ओपेक)ले कच्चा तेलको मूल्यलाई उच्च विन्दुमा लगेर स्थिर राख्ने रणनीति लिएका कारण विश्भरका उपभोक्ताहरू महँगीको मारमा परिरहेका छन् । ओपेकको १९ साउनमा बसेको बैठकले समेत उच्च विन्दुमा पुगेको मूल्यलाई स्थिर राख्ने रणनीति सफल भएको निष्कर्ष निकालेको छ ।
सो बैठकले दोस्रो ठूलो तेल उत्पादक देश साउदी अरबले विश्वको तेल बजारलाई स्थिरता राख्ने प्रयासस्वरूप दैनिक १० लाख ब्यारेल उत्पादनमा कटौती गरिरहेको कार्यलाई प्रशंसा गर्ने निर्णय गरेको छ । साथै, आउँदो सेप्टेम्बर महिनादेखि रुसले समेत तीन सय केविडी तेल निर्यातमा कटौती गर्ने योजना बनाएको भन्दै तेलको मूल्य उच्च विन्दुमा स्थिर राख्न थप मद्दत मिल्ने ओपेकको भनाइ छ ।
ओपेकसहित अन्य देशको यस्तो रणनीतिले पेट्रोलियम पदार्थको मूल्यमा सुधार आउने देखिएको छैन । जसकारण नेपालमा पनि आगामी दिनमा पेट्रोलियमको मूल्य उकालो लाग्ने देखिन्छ ।आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दै १६ साउनमा पेट्रोल नौ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान सात रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको थियो । ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय ३० रुपैयाँ घटाइएको थियो ।
१६ साउनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गर्दा १ देखि १५ साउनसम्मको कच्चा तेलको भाउलाई आधार मानिएको थियो । त्यतिवेला कच्चा तेलको मूल्यमा औसत ८५.३४ डलर प्रतिब्यारेलको वृद्धि देखिएको थियो । तर, पछिल्लो १५ दिनमा भने कच्चा तेलको भाउ १.४२ डलर प्रतिब्यारेल मात्रै वृद्धि भएको छ । जसकारण नेपाली बजारमा सामान्य दरले मात्रै पेट्रोलियमको मूल्यवृद्धि हुने अनुमान गरिएको छ ।आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि स्वचालित मूल्य प्रणाली कार्यान्वयन भएकाले अन्तर्राष्ट्रिय मूल्यले असर गर्ने बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा इन्धन अभाव
डडेल्धुरामा नवराज पनेरू
सुदूरपश्चिमका पहाडी जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । सातवटा पहाडी जिल्लाको लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग एक सातासम्म अवरुद्व भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।
पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो ।
आइतबार साँझदेखि राजमार्ग आंशिक रूपमा सञ्चालन भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर भने ल्याइएको छैन । राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएको भन्दै इन्धनले लोड गरिएका ट्यांकर धनगढीमै थन्क्याइएको छ । डडेल्धुरामा उग्रतारा पेट्रोलपम्पका सञ्चालक नरबहादुर साँकीले धनगढीमा पर्याप्त इन्धन भए पनि राजमार्ग अवरुद्व हुँदा ल्याउन नसकिएको बताए । ‘इन्धन लोड गरेर ट्यांकर धनगढीमा राखिएको छ,’ उनले भने, ‘सडक पूर्ण रूपमा सञ्चालन नहुँदा ल्याउन सकिएको छैन ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहन शाहले पनि अवरुद्व राजमार्गकै कारण पहाडमा पेट्रोलियम पदार्थको अभाव भएको बताए । ‘धनगढीको डिपोमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्जात छ,’ उनले भने, ‘राजमार्ग अवरुद्व हुँदा पहाडका लागि लोड गरिएका ट्यांकर पठाउन सकिएको छैन ।’
पेट्रोलियम पदार्थको अभाव हुँदा सात पहाडी जिल्लाका बासिन्दा भने समस्यामा परेका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकाका स्थानीय वीरबहादुर एरले इन्धनको अभावले सवारीसाधन थन्क्याउनुपर्ने अवस्था आइसकेको बताए । ‘यहाँका पेट्रोलपम्पले एक दिनका लागि मात्रै पुग्ने गरी इन्धन मौज्जात राख्ने गरेका छन्,’ उनले भने, ‘सात दिनसम्म इन्धन नआएपछि हाहाकार हुने नै भयो ।’