क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दुईजनालाई मकवानपुर प्रहरीले आइतबार पक्राउ गरेको छ।
शनिबार हेटौँडामा भएको क्यान मकवानपुरको अधिवेशनपछि उनलाई तीनजनाले मोबिल छ्यापेर भागेका थिए। पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका– १३ वनस्पतिका प्रिन्स भनिने बलवीर लामा र हेटौँडा– १९ बस्तीपुरका विशाल गुरागाईं रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार अझै एकजना फरार छन्। उनको खोजी कार्य भइरहेको छ। सचिव पाठकमाथि अधिवेशनको उद्घाटन सत्र सकेर खाना खाइरहेको समयमा मोबिल प्रहार भएको थियो।