संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : पाँच दिनसम्म आफन्तले शव बुझेनन्

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको सुरक्षा घेराभित्र शंकास्पद मृत्यु भएको पाँच दिन बितिसक्दासमेत आफन्तले शव बुझेका छैनन्।

मृतकका आफन्तहरूले दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका कारण आइतबारसम्म मृतकको शव जिल्ला अस्पतालको शवगृहमा नै रहेको छ। शवको पोस्टमार्टम शनिबार भइसकेको छ।

शुक्रबार शनिबार शवको पोस्टमार्टम गर्ने र जाहेरी दर्ता गरी दोषीलाई सार्वजनिक गर्ने भद्र सहमति भएको थियो। तर, उक्त सहमति प्रहरी प्रशासनले तोडेको भन्दै आफन्तले शव नबुझेका हुन्।

कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलांगीका दाजु मादी– ५ का ३० वर्षीय प्रकाश तोलांगीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा किटानी जाहेरी दर्ता गराएको भन्दैै प्रहरी प्रशासनले शनिबार प्रेस रिलिज सार्वजनिक गरेको थियो। तर, आफन्तहरूले दोषीलाई सार्वजनिक गर्ने सहमति भए पनि सार्वजनिक नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका हुन्।

आज आइतबार जिल्ला अदालतबाट किटानी जाहेरी परेका निमित्त प्रमुख राजेन्द्र घिमिरे र इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीको म्याद थप भएपछि खाँदबारी ल्याएर सार्वजनिक गर्ने भने पनि हालसम्म नगरेकाले शव नबुझेको मृतककी दिदी भीमा रम्तेलले बताइन्।

गत २४ गते बुधबार जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका– ७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।

सुझावित समाचार