कम विद्युत् खपतमा सधैँ र सबैका लागि तातोपानी भन्ने नारासहित इको ग्रिन हिट पम्प अब पोखरासँगै गण्डकी प्रदेशमा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको मुस्ताङ इस्ट्रक्चर एन्ड इन्जिनियरिङ वर्कसपले गण्डकी प्रदेशमा पम्प बिक्री वितरण गर्ने जिम्मा पाएको छ । प्रदेशमा बिक्री वितरणको जिम्मा पाएको वर्कसपले पोखरामा प्लम्बर मिटसमेत सम्पन्न गरेको छ ।
वर्कसपका सञ्चालक जयन्द्र गौचनका अनुसार सोलार, ग्यासगिजर, इलेक्ट्रिकलगायतका प्रविधिमार्फत तातोपानी तताउन धेरै कम विद्युत् खपत हुने गरी इको ग्रिन हिट पम्प तयार भएको बताए । पम्प घरसँगै होटेल, रेस्टुरेन्ट तथा अस्पतालमा समेत प्रयोग गर्न सकिने र एकपटकको लगानीले धेरै वर्षसम्म टिकाउ हुने बताए । हिट पम्प बिक्री वितरण गर्ने जिम्मा पाएसँगै वर्कसपले सो प्रविधिका बारेमा प्लम्बरहरूलाई जानकारी दिने उद्देश्यले प्लम्बर मिट आयोजना गरेको हो ।
जर्मन प्रविधिको प्रयोग गरी चीनमा निर्माण भएको पम्प नेपालमा सन् २००९ देखि इको ग्रिन इन्टरनेसनलले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएको कम्पनीका सञ्चालक पवित्र चुकेले जानकारी दिए । बजारमा पाइने अन्य हिट पम्पको तुलनामा करिब ६० देखि ७० प्रतिशतसम्म कम विद्युत् खपतमा हर मौसममा तातोपानी उपलब्ध गराउन सकिन्छ उनको दाबी छ ।
१५० लिटरदेखि तीन हजार लिटर क्षमताका पम्प बजारमा उपलब्ध छन् । पम्पको मूल्य एक लाख ७५ हजारदेखि १५ लाखसम्म पर्ने चुकेले जानकारी दिए । दुई वर्षसम्म सर्भिस निःशुल्क र मेसिनमा कुनै समस्या आएमा त्यसको रिप्लेससमेत हुने पम्पले तातोपानी ४८ घन्टासम्म प्रयोग गर्न सकिने भएकाले विद्युत् खपत कम हुने भनाइ उनको छ । नेपाली बजारमा पम्पले ६० प्रतिशत बजार ओगटेको कम्पनीको दाबी छ ।