श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले विगतका वर्षमा झैँ यस वर्ष भक्तपुरको बालकोटमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
नेपाली कांग्रेसका पूर्वनेता तथा शिक्षासेवी स्व. कार्कीको १६औँ स्मृति दिवसको अवसरमा प्रतिष्ठानले खुला रक्तदान एवं स्टेसनरी सामग्री वितरण कार्यक्रमको अयोजना गरेको हो। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय दुर्लभ थापा र रमा पौडेल, मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, सूर्यविनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदीप कार्कीलगायतको उपस्थिति थियो।
स्व. श्यामबहादुर कार्कीको तस्बिरमा माल्यार्पण गर्दै महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए। वडाध्यक्ष प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीको समाजप्रतिको योगदान र उनको संघर्षबारे चर्चा गरेका थिए।

कार्यक्रममा ११० जनाले रक्तदान गरेका र गणेश आधारभूत विद्यालय बालकोटका सय विद्यार्थीलाई झोला एवं स्टेसनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए।
प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरूलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा प्रतिष्ठानले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा स्थानीय तह र सरोकारवाला निकायहरूसँग समेत सहकार्य गर्दै जाने बताए।रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा, बालकोट उपशाखाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो।