सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन नसक्ने दाबी गरेका छन्।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख)ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वैदेशिक लगानी भित्र्याउन पनि नेपालमा भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए। कोइरालाले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरूले आजैदेखि हामीहरूले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरूको माझमा राख्न चाहन्छु।’
अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै उनले त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने प्रस्ट पारे।
नेता कोइरालाले पार्टीको भ्रातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनले पार्टीभित्रै प्रतिशोधको राजनीति भइरहेको बताए।