इन्धन अपचलन गर्ने आयल निगमका पोखरा डिपो प्रमुखलाई कारबाही गर्न अख्तियारलाई पत्राचार

डिजिटल संस्करण
इन्धन अपचलन गर्ने आयल निगमका पोखरा डिपो प्रमुखलाई कारबाही गर्न अख्तियारलाई पत्राचार

नियन्त्रणमा लिइएको ट्यांकरको तेल नाप्दै जिल्ला प्रशासन कार्यालयको टोली ।

तीन हजार दुई सय लिटर बढी डिजेल पेट्रोल पम्पलाई बिक्री गर्न लैजाँदै गर्दा जिल्ला प्रशासनले समात्यो ट्यांकर, डिपो प्रमुख दासलाई निलम्बन गरेर अनुसन्धान हुँदै

एउटै ट्यांकरबाट तीन हजार दुई सय लिटर डिजेल अपचलन गर्ने नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ । बिहीबार साँझ पोखरा डिपोबाट स्थानीय पश्मिाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पमा १२ हजार लिटर डिजेलको बिल काटेर निस्केको ग२ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालयको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गर्दा १५ हजार दुई सय लिटर डिजेल भेटिएको थियो । त्यसपछि ट्यांकरलाई इलाका प्रहरी कार्यालय, हंसपुरमा राखेर डिपो प्रमुख दासलाई भ्रष्टाचारजन्य अपराधमा कारबाहीका लागि अख्तियारलाई पत्राचार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

पेट्रोलियम प्रदार्थ ढुवानीमा अनियमितता भएको सूचना पाएपछि बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत नवराज बरालको नेतृत्वमा इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख (प्रहरी नायब निरीक्षक) प्रकाश दाहाल, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र स्थानीयवासीसमेतको संलग्नतामा सो ट्यांकरलाई चेकजाँच गरिएको थियो । त्यसक्रममा बिलमा उल्लेख भएभन्दा तीन हजार दुई सय लिटर बढी डिजेल फेला पारेको थियो । पोखराका पम्पलाई निगमले सम्बन्धित पम्प सञ्चालककै ट्यांकरबाट इन्धन वितरण गर्दै आएको छ । जिप्रकाले नियन्त्रणमा लिएको ट्यांकर पनि पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्प सञ्चालक बाबुराम जमरकट्टेलको हो । उनी लेखनाथ उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् भने अहिले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य छन् । 

इन्धन अपचलनमा जमरकट्टेलको समेत संलग्नता पुष्टि भएपछि उनको पम्पमा इन्धन वितरण शुक्रबारबाटै रोकिएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार निगमलाई संस्थागत नोक्सानी हुने गरी डिपो प्रमुख दास, अपरेसन विभागका केही कमर्चारी र पम्प सञ्चालकको मिलेमतोमा तेल अपचलन हुने गरेको भेटिएको छ । 

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘व्यापारीसँग सीधै पैसा असुल्ने धन्दामा डिपो प्रमुख दाससँगै केही निजी ट्ंयाकरका धनीको मिलोमतोमा यसप्रकारको घटना भइरहेको देखिन्छ ।’ इलाका प्रहरी कार्यालय, हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले नियन्त्रणमा लिएको ट्याकर जिल्ला प्रशासनको नियन्त्रणमा सिलबन्दीसहित प्रहरी कार्यालय पसिरमा राखिएको बताए । जिप्रकाले घटनाबाहिर ल्याएपछि डिपो प्रमुख दास भने बिहीबारदेखि नै फरार छन् । उनी आयल निगम व्यवस्थापनको समेत सम्पर्कमा नआएको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

डिपो प्रमुख दासको संलग्नतामा बिहीबार साँझ तोकिएभन्दा बढी पठाइएको तीन हजार दुई सय लिटर डिजेलको बजारमूल्य चार लाख ८९ हजार ६ सय रुपैयाँ हुन आउँछ । यो रकमको २० देखि ५० प्रतिशतसम्म पेट्रोलपम्पलाई छाडेर बाँकी ५० देखि ८० प्रतिशत हुन आउने रकम डिपो प्रमुख दासले बुझ्ने गरेको स्रोतको भनाइ छ । ‘बढी पठाएको तेलको जति मूल्य हुन्छ । त्यसको कम्तीमा ५० प्रतिशत हुन आउने रकम डिपो प्रमुखले बुझ्ने गरेका छन्,’ स्रोतले भन्यो, ‘यसो गर्दा इन्धन अपचलनमा संलग्न डिपो प्रमुख, कर्मचारी र पम्प सञ्चालकलाई फाइदा हुन्छ, तर निगमलाई भने नोक्सानी भइरहेको छ ।’ यसरी जानाजान बढी पठाइएको तेललाई आयल निगमले तापक्रम तथा कार्यगत नोक्सानीमा देखाउने छुट दिएको छ । पोखरा डिपोमा डिजेलमा हुने लक्षित नोक्सानी दर ०.६० छ । दासले लक्षित नोक्सानी दरभित्रै रहेर तेलको अपचलन गर्दै आएका थिए ।

एक वर्षदेखि अपचलन जारी थियो
निगमको पोखरा डिपो प्रमुखका रूपमा ६ असोज ०७९ मा दासले कार्यभार सम्हालेका थिए । उनी आएदेखि नै डिपोबाट तोकिएभन्दा बढी परिमाणमा तेल निजी ट्यांकरबाट ढुवानी हुँदै गरेको जिप्रकाको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पोखराका ६–७ वटा पम्पमा निजी ढुवानीका ट्यांकरले निरन्तर तोकेभन्दा बढी तेल लैजाने गरेको एक कर्मचारी बताउँछन् । बिलमा उल्लेख भएभन्दा बढी लगेको तेलको मूल्य बराबर हुन आउने रकम डिपो प्रमुख दासलाई पम्प सञ्चालकले बुझाउने गरेका थिए । 

यसरी रकम बुझाउँदा प्रचलित दरभन्दा केही कमदरमा हिसाब गरेर दिने वा एकमुस्ट हिसाब गरी आउने रकमको २० देखि ५० प्रतिशत रकम डिपो प्रमुखलाई दिने गरिएको थियो । ट्यांकरमा रहेको तेल ‘डिप रड’ले नापेर पठाउन डिपोमा रहेका ५–६ तहका प्राविधिक समूहका कर्मचारीलाई जिम्मेवारी दिने गरिन्छ । तर, डिपो प्रमुख दास आफैँले प्रत्येक दिन ट्यांकरको तेल नाप्दै पम्पमा बढी तेल पठाउने गरेका थिए । ‘डिपो प्रमुखले ट्यांकरको तेल नाप्ने कतै पनि अभ्यास छैन,’ एक कर्मचारीले भने ।’

पोखरा डिपोमा इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल, मट्टितेल र हवाई इन्धन तथा निगमको अमलेखगन्जस्थित डिपोबाट डिजेल ढुवानी हुने गरेको छ । डिपोमा आएको तेल पेट्रोलपम्पले आफ्नै ट्यांकरमा हालेर लैजाने गरेका छन् । त्यहाँ १३ वटा पम्प सञ्चालकको आफ्नै ट्यांकर छन् । 

तर, आफ्नो ट्यांकर नहुने पम्पहरूलाई भने डिपो प्रमुख दासले बरौनी र अमलेखगन्जबाट आएका ट्यांकरलाई सोझै पम्पमा पठाउने गरेका थिए । यसरी बरौनी र अमलेखगन्जबाट आएका ट्यांकर सोझै पम्पमा पठाउँदा पनि दासले प्रतिट्यांकर करिब एक सय लिटरसम्म झिकेर मात्रै पठाउने गरेका थिए ।

निगमद्वारा दास निलम्बित, विगतमा पनि विवादित छवि

डिपो प्रमुख चित्तरञ्जन दास

इन्धन अपचलन घटनामा दोषी भेटिएपछि आयल निगम व्यवस्थापनले पोखरास्थित डिपो प्रमुख चित्तरञ्जन दासलाई शुक्रबार साँझ नै निलम्बन गर्ने निर्णय गरेको छ ।

निगम प्रवक्ता मनोज ठाकुरले छानबिन अवधिका लागि दासलाई निलम्बन गरिएको जानकारी दिए । उनले भने, ‘इन्धन अपचलनजस्तो जघन्य अपराधमा मुछिएपछि उहाँ (दास) लाई तत्कालै निलम्बन गरेका छौँ । अब हाम्रोतर्फबाट पनि छानबिन सुरु गर्छौँ ।’

दास निगमभित्र विवादित पात्र हुन् । उनी तीन वर्षअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गरेको उजुरी परेको थियो । त्यसअघि लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा रहँदा पनि फौजदारी अभियोगमा निलम्बित भएका थिए । 

त्यतिखेर निलम्बनमा पर्दा उनी बढुवामा पछि परी अहिले नौ तहमा छन् । उनका सहकर्मी भने अहिले १०औँ तहमा कार्यरत छन् । अहिले पनि दासको फाइल बढुवामा परी १०औँ तहमा बढुवा हुने क्रममा थिए । तर, तेल अपचलनकाण्डमा परी निलम्बित भएपछि उनको वृत्ति विकासमा पनि असर परेको छ ।

भ्रष्टाचारजन्य कसुर भएकाले कारबाही गर्न अख्तियारलाई पत्राचार गरेका छौँ : वासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी, कास्की

आयल निगमको पोखरा डिपोबाट तेलमा अनियमितता हुने गरेको भन्ने सूचना हामीलाई यसअघि नै आएको थियो । तथ्य खोज्दै जाँदा बिहीबार बढी तेल ढुवानी गरेको भन्ने सूचना पाएपछि खटिएको टोलीले सूचनाअनुसार नै खरिद गरेभन्दा बढी तेल ढुवानी गरेको भेट्टाएको हो ।

डिपोमा १२ हजार लिटरको पैसा तिरेर आएको ट्यांकरमा १५ हजार दुई सय लिटर डिजेल भेटिएको हो । यो घटनापछि शुक्रबार बैठक बसेर भष्ट्राचार निवारण ऐनअनुसार यस घट्नामा संलग्नलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाएका छौँ ।

यो सीधै भष्ट्राचारसँग सम्बन्धित रहेकाले कारबाही गर्ने अधिकार प्रशासनलाई नभएकाले अब के–कस्तो कारबाही गर्ने भन्नेमा अख्तियारले छानबिन गरी टुंगो लाउनेछ ।

सुझावित समाचार