निगमको पोखरा डिपोका प्रमुख दास निलम्बित, इन्धन अपचलन सार्वजनिक भएपछि दास सम्पर्कविहीन

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगमले कास्कीको गगनगौँडास्थित पोखरा डिपोका प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरेको छ । 

निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराले १२ हजार लिटरको पैसा लिएर स्थानीय पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पलाई १५ हजार एक सय नौ लिटर डिजेल पठाउँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार साँझ लु.२ख ८३६ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको थियो ।

सो घटना सार्वजनिक भएपछि निगमले डिपोप्रमुख दासलाई निलम्बन गरेको निगमका प्रवक्ता मनोज ठाकुरले नयाँ पत्रिकालाई जानकारी दिए । उनले दासमाथिको छानबिन प्रक्रिया अगाडि बढाएको पनि बताए । 

दास हाल फरार छन् । उनी निगमको सम्पर्कमा पनि नआएको प्रवक्ता ठाकुरले बताए । 

निगमका उपनिर्देशक दास गत असोजदेखि कास्कीको गगनगौँडास्थित सो डिपो प्रमुखका रूपमा कार्यरत छन् । उनी डिपो प्रमुखका रूपमा सरुवा भएदेखि इन्धन अपचलनको घटना वृद्धि भएको स्रोतको भनाइ छ । 

प्रशासन कार्यालयले बिहीबार साँझ ट्यांकर नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिलमा उल्लेख भएभन्दा बढी डिजेल पाइएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले सो डिपोले तोकिएभन्दा बढी तेल पेट्रोलपम्पलाई पठाउने र निगमलाई हानि–नोक्सानी पुर्याउने गरेको भन्दै पटकपटक उजुरी परेपछि ट्यांकर नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए । 

‘समातिएको ट्यांकरबारे अनुसन्धान गर्दा तोकिएभन्दा तीन हजार एक सय नौ लिटर बढी डिजेल आयल निगमको डिपोले पठाएको भेटियो,’ प्रजिअ घिमिरेले भने । 

डिपो प्रमुख दास, अप्रेसन विभागमा कार्यरत कर्मचारी र पेट्रोलपम्प सञ्चालकको मिलेमतोमा एकैपटक तीन हजार लिटरभन्दा बढी तेल अपचलनको घटना भएको स्रोतको भनाइ छ ।

दास निगमभित्र विवादित पात्र मानिन्छन् । उनी यसअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गरेको उजुरी परेको थियो । 

उनले पोखरामा रहँदा पटक–पटक पेट्रोलपम्पलाई तोकिएभन्दा बढी तेल दिएर व्यक्तिगत लाभ लिने गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

सुझावित समाचार