चीनमा अमेरिकी लगानी रोक्नु आत्मघाती खेल

अमेरिकाले एकको मूल्यमा अर्कोको नाफाको आकांक्षा राख्छ, जसमा उसलाई मात्र फाइदा होस् र चीनलाई घाटा लागोस्

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

धेरै विश्व समाचार स्रोतअनुसार अमेरिकी सरकार ‘अभूतपूर्व’ भनिने नियम लागू गर्न तयार छ । यसअन्तर्गत चीनमा अमेरिकी लगानीलाई घटाइनेछ । यो योजना झन्डै दुई वर्षदेखि बनिरहेको थियो र एक वर्षभन्दा बढी समयदेखि जनतामाझ प्रचार गरिएको थियो । वासिंटनमा लामो समयसम्म बहसमा रहेको यस योजनाले अन्ततः भुइँ टेकेको छ । यस अवधिमा वासिंटनले चीन–अमेरिका सम्बन्धमा क्षति पुर्याएको छ, जहाँ दुई मुलुकबीचको सामान्य आर्थिक सहयोगको वातावरणलाई पनि खलल पुगेको छ, अर्थात् सम्बन्ध चिसिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेश जारी गरेर सेमीकन्डक्टर, क्वान्टम कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सलाई समावेश गर्ने तीन प्रविधि क्षेत्रमा चीनमा अमेरिकी प्रत्यक्ष लगानीलाई सीमित गर्नेछन् वा प्रतिबन्ध गर्नेछन् भन्ने खुलासा भएको छ । बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले महिनौँदेखि प्रतिबन्ध ‘सीमित’ हुनेछन्, किनभने ‘फराकिलो पार्ने कुराले अमेरिकी मजदुर र अर्थतन्त्रलाई चोट पुर्याउने’ बताउँदै आएका छन् । 

अधिकारीले यी प्रतिबन्ध ‘बेइजिङले भन्ने गरेको ‘प्रविधि नाकाबन्दी’ होइन’ भन्दै अमेरिकी नियमन ‘राष्ट्रिय सुरक्षा’का मामिलामा मात्रै हुने बताएका छन् । संक्षेपमा अधिकारी यी प्रतिबन्ध अमेरिकी जनमतले अनुमान गरेजस्तो तीव्र हुनेछैन भन्ने संकेत दिन्छन्, अर्थात् अमेरिकाले आफ्नो नीतिलाई केही नरम पारेको छ ।

जसरी यो योजना पेस गर्न धेरै समय लाग्यो, यसले योजनाबारे अमेरिकामा केही बहस भएको संकेत गर्छ । योजना अन्त्य नभएको तथ्यले वासिंटनमा चीन नियन्त्रण र दमन गर्ने नीति लिनेहरूको हालीमुहाली देख्न सकिन्छ । वासिंटनका अधिकारीले यसले ‘चीनसँगको वैधानिक व्यापारलाई क्षति पुर्याउँदैन’ भन्दै अमेरिकाको घरेलु चिन्ता न्यूनीकरण गर्ने प्रयास गरेका छन् । तथापि अधिकारीको आश्वासनले यी प्रतिबन्धको सार वा नकारात्मक प्रभावलाई परिवर्तन गर्दैन । प्रतिबन्धका समाचार बाहिर आएपछि अमेरिकामा उल्लेख्य रूपमा शंका, चिन्ता र विरोध भएका छन् र यो समयसँगै बलियो हुँदै गएको छ ।

अमेरिकी सरकारले चीनलाई लक्षित गरी आफ्नो निर्यात र लगानीसम्बन्धी नियमलाई निरन्तर सुदृढ गर्दै आएको छ । यसले स्थापित विश्वव्यापी आर्थिक र व्यापारिक लगानीको मापदण्डलाई अवरुद्ध मात्र नगरी यसले अमेरिकाको आर्थिक हितमा पनि थप क्षति पुर्याउँछ । 

यो अवस्थामा वासिंटनले अलोकप्रिय प्रहार गरेको छ, विशेषतः अमेरिकी व्यापार समुदायभित्र । भूराजनीति, सुरक्षा सरोकार र विचारधाराले चीनप्रति अमेरिकाको आर्थिक र व्यापारिक दृष्टिकोणलाई प्रभाव पारेको छ । वासिंटनले व्यापारी समुदायलाई केही हदसम्म शान्त पार्न सानो प्रयास गरिरहेको छ, यसले सन्तुलित चीन नीतिमा फर्किने संकेत गर्दैन । अमेरिकी व्यापारीले नाफा कमाउन चीनमा लगानी गर्छन् र चीन–अमेरिकी आर्थिक र व्यापारिक सम्बन्धले सामान्यतया दुवै देशलाई फाइदा पुर्याउँछ ।

वासिंटनका कदमले वासिंटनले चीनले भन्दा बढी नाफा कमाइरहेका क्षेत्रमा मात्रै आक्रमण गरेको छैन । वासिंटनले आफूले बढी नाफा कमाइरहेको क्षेत्रमा पनि आक्रमण गरिरहेको छ । वास्तवमा अमेरिका एकको मूल्यमा अर्कोको नाफा (जिरोसम) को आकांक्षा राख्छ, जसमा अमेरिकालाई मात्र फाइदा होस् र चीनलाई घाटा लागोस् भन्ने चाहन्छ, तर यो सम्भव छैन । यदि कसैलाई अमेरिकी ‘लगानी प्रतिबन्ध’ले चीनको उच्च–प्रविधिको विकासलाई सीमित पार्न वा रोक्न सकिन्छ भन्ने लाग्छ भने ती केवल अत्यधिक आडम्बरी हुन् भन्न सकिन्छ ।

उन्नत सेमीकन्डक्टर, क्वान्टम कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स मानवताका तीन उच्च प्रविधिका प्रतिनिधि हुन् र यसमा अग्रणी रहेको अमेरिका चीनदेखि त्रसित छ । ‘लगानी प्रतिबन्ध’को थोरबहुत प्रभाव पनि कमजोर हुँदै गइरहेको छ । वास्तवमा उन्नत प्रविधिमा हामी अन्यमा निर्भर थिएनौँ र सदैव स्वतन्त्र नवप्रवर्तनमा प्रतिबद्ध छौँ । चीनमाथिको अमेरिकी बन्देजले हामीलाई स्वतन्त्र नवप्रवर्तनका लागि थप प्रोत्साहित गर्नेछ र बाह्य विश्वमा हाम्रो थप प्रचार गर्नेछ । 

‘लगानी प्रतिबन्ध’को सबैभन्दा ठूलो र प्रत्यक्ष असर चिनियाँ बजारमा लगानी गर्न लालायित अमेरिकी लगानीकर्तामाथि परेको छ । यी जोखिमपूर्ण प्रतिबन्धले चीन अमेरिकाबीचको सामान्य लगानीपूर्ण र व्यापारिक सम्बन्धलाई संकटमा पार्नेछ । यसबाहेक चीनमा लगानी गर्ने अमेरिकी लगानीकर्तामाथि मनोवैज्ञानिक त्रास थप्नेछ । केही चिरपरिचित लगानीकर्ताले जोखिमलाई न्यूनीकरण गर्न ‘विभाजन’को रणनीति अपनाउन थालिसकेका छन् । 

केही समययता अमेरिकी सरकारले आफूलाई थप सुरक्षित बनाउने सोचसहित ‘सानो आँगन र अग्लो बार’को मानसिकताअन्तर्गत ‘प्राविधिक किल्ला’लाई निरन्तर निर्माण गरिरहेको छ । तर, उसले विस्तार गरिरहेको ‘राष्ट्रिय सुरक्षाको’ रणनीतिले वास्तवमा अमेरिकाले आफूलाई ‘बाँधिएको पोखरी’ बनाइरहेको छ । 

अमेरिकाको लगानी प्रतिबन्धले चीनको प्राविधिक नवप्रवर्तनमा खासै ठूलो क्षति पुर्याउनेछैन । अमेरिकी सरकारको ‘अभूतपूर्व नियमबाट अमेरिकी लगानीलाई सीमित गर्ने नियम’ले केही चिनियाँ कम्पनीका सम्भावित अवसरमा रोक लगाउन सक्छ । तर, यति भन्दै गर्दा यी कम्पनीले वासिंटनका अत्याचारी भित्तामा अडेस लाउन हुँदैन भन्ने पाठ सिक्नेछन् ।

मुलुकको विकासका लागि उच्च प्राविधिक क्षेत्र अत्यावश्यक छ । र, यसले हालको युगको स्वाभाविक अन्तरसम्बन्ध खोज्छ । एक मुलुकले प्राविधिक क्षेत्रको शोध–अनुसन्धानमा अगाडि पनि बढाउन चाहन्छ र आफूलाई अलगावमा राख्नु यथार्थसंगत देखिँदैन । प्रविधिको भविष्य ती मुलुकमा छ, जसले विश्वलाई उदारतासाथ हेर्छ । यदि अमेरिका यो कुरा बुझ्दैन भने ऊ चीनलाई ‘उछिन्ने’ लक्ष्यबाट धेरै टाढा पुग्नेछ ।
(ग्लोबल टाइम्सको २५ साउनको सम्पादकीयबाट) 
 

सुझावित समाचार